साँगाबाट फर्काइए १४५ जना भारतीय मजदुर



बनेपा । भारतको विहारबाट आएर भक्तपुरको इँटाभट्टामा काम गरिरहेका १४५ जनालाई प्रहरीले साँगाबाट फिर्ता पठाएको छ ।
हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको जनाएको हो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट शुक्रबार बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो ।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताए ।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो ।

बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६ सय रुपैयाँ दिएको र त्यो रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।


क्लिकमान्डु