लकडाउनमा स्मार्ट कार्डको छपाइ जारी



काठमाडौं । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ ।  सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले गत चैत ११ गतेबाट लकडाउन लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘अहिले सामान्य अवस्थामा जति नै छपाइ भइरहेको छ,’ उनले भने ।

बन्दाबन्दीको समयमा अहिले मास प्रिन्टरबाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङ्ख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ ।

कोभिड-१९ को जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताए । दैनिक तीन चरणमा मास प्रिन्टर सञ्चालनका लागि दुई/दुईजना कर्मचारी कार्यालय आउने गरेका छन् । उनका अनुसार एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्को कर्मचारी आउनेगरी मिलाइएको छ ।

विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । बन्दाबन्दी पहिले झण्डै साढे चार लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै तीन लाख छाप्न बाँकी छ । बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले जनाएको छ ।

छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन् । बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकारअन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ र कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ । अहिले दैनिक छपाइ भइरहे पनि कर्मचारी आउन÷जान कठिनलगायत समस्या छन् ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि नै सेवाग्राहीले राजश्व तिरेको लामो समयपछि मात्रै अनुमतिपत्र पाउने गरेका थिए । नयाँ संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालयहरु सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ ।

सरकारले झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा ‘मास प्रिन्टर’ ल्याइएको थियो । त्यो आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कँयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताए ।

सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि मास पिन्टरको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई स्मार्ट चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ ।

यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि गरिसकेका छैनन् ।

विभागमा गत वर्षहरुमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै, छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न मास प्रिन्टरसँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।


क्लिकमान्डु