सामाजिक सुरक्षा भत्ता वितरण रोकिएपछि अपांग र एकल महिला असन्तुष्ट



काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतदेखि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले आज एक विज्ञप्तिमार्फत यस कार्यबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको हनन हुने र संविधानले आत्मसात गरेको मौलिक हकको प्रतिकूलसमेत भएको भन्दै विरोध जनाउएका हुन् ।

यो कार्य कोरोना महामारीबाट जनता प्रताडित भइरहेको विषम अवस्थामा नेपालको संविधानमा उल्लेख भएको ‘अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन’ भन्ने प्रावधान प्रतिकूल रहेको भनी सांसद पन्थले टिप्पणी गरे ।

अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको भन्दै उनले उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग गरेका छन् ।


क्लिकमान्डु