पिसीआर परीक्षण गर्दा १५ हजार लाग्ने निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको स्वास्थ्य संस्थामार्फत आरटी पिसीआर परीक्षण गराउँदा १५ हजार रुपैयाँ लाग्छ भनेर आएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ ६ गते उक्त परीक्षण स्वेच्छाले गर्न चाहेमा स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पुरा गरेर तोकिएको दररेटमा परीक्षण सशुल्क गराउने भन्ने निर्णय भएको तर शुल्क निर्धारण नभएको जनाएको छ ।

सार्वजनिक अस्पतालमा जान नचाहने, अस्पतालमा गएर समय खेर फाल्न नचाहने स्वदेशी तथा विदेशी नागरिकलाई सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको भएपनि शुल्क निर्धारण नभएको विज्ञप्तिमा उल्लेख छ ।

अहिले सरकारले परीक्षणका दारयरा बढाउन लागेको र के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी रहेको उल्लेख छ ।


क्लिकमान्डु