उद्योगी व्यवसायीलाई असफल बनाएर बैंक चल्दैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रको तर्फबाट जस्तोसुकै सम्झौता गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै उनले कोरोना भाइसरको असर न्यूनिकरणको लागि सरकार र सबै सम्बन्धीत निकाय लचक भइरहेको अवस्थामा राष्ट्र बैंकले पनि लचकता अपनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘सबै नियामक निकाय सहमति र सम्झौता गर्न तयार भइरहेको छ ।’ उनले भने ‘यो अवस्था बैंकिङ क्षेत्रको तर्फबाट गरिनु पर्ने सम्पुर्ण सम्झौताहरु गर्न राष्ट्र बैंक तयार छ ।’ लकडाउन समय बढ्दै गएकाले निजी क्षेत्रलाई व्यवसाय पुनः सञ्चालन गर्नको लागि राष्ट्र बैंकले थप आवश्यक व्यवस्था मिलाउने तयारी गरिरहेको उनले बताए ।

उनले कर्जाको पुर्नतालिकाकरण लगायत सबै विषय अध्ययन गरेर किस्ता तिर्ने समय थप्ने विषयमा तयारी भइरहेको जानकारी दिए ।

‘उद्योगी व्यवसायीलाई असफल गराएर बैंक चल्दैन र बैंक असफल भएर व्यवसाय पनि चल्दैन,’ गभर्नर अधिकारीले भने । ‘ऋणीहरुलाई कर्जा तिर्नका लागि केही ग्रेस पिरियड र मोराटियम आवश्यक छ ।’

उनले निक्षेपको ब्याजदर कम भएपछि आधारदर घटन गई ब्याजदर सस्तो हुँदा केन्द्रीय बैंकले कर्जा सस्तो बनाउन निक्षेपको ब्याजदर घटाएको जानकारी दिए ।

अहिलेको समस्यासँग जुध्न राष्ट्र बैंकले सबैखाले उपकरण प्रयोग गर्न अभ्यास गरिरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु