कोरोना कहरः २२ वटा वाणिज्य बैंकको ‘रिटर्न अन इक्विटी’ घट्यो, सेयर बजार प्रभावित हुने



काठमाडौं । कोरोनाको असरले बैंकहरुको नाफा घट्दा त्यसको प्रभाव सम्पत्तिमाथिको प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) मा परेको छ । बैंकहरुको नाफा अर्बौंमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा कमाए ? भनेर हेर्ने सबैभन्दा उपयुक्त सूचक हो रिटर्न अन इक्विटी ।

वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ६० प्रतिशतले घट्यो, ६ बैंकको ऋणात्मक

बैंकहरुले अर्बौं नाफा कमाएको वित्तीय विवरण प्रकाशित हुनेभएकाले धेरैको नजर त्यो अंकमाथि पर्छ । र, सोही अनुसार समाजमा टिक्का टिप्पणी गरिन्छ- अरु क्षेत्रले खासै नकमाएको बेला बैंकहरुले कसरी अर्बौं अर्ब कमाए ? त्यसैले बैंकको कमाइमा अंकुश लगाउनुपर्छ ।

तर, यथार्थमा त्यो होइन । बैंकको कमाई कति भयो भनेर आरओई हेर्नुपर्छ । बैंकले आफ्नो पुँजी कति लगानी गरेको छ र उक्त लगानीमा कति प्रतिशत नाफा कमाएको छ ? भनेर हेर्नुपर्छ ।

वाणिज्य बैंकहरुको नाफा साढे ४५ अर्ब बढी, कुन बैंककाे कति ?

बैंकहरु पारदर्शी छन् । उनीहरुले आफ्ना सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्छ । अन्य निजी व्यापार व्यवसायमा यो बैंकको भन्दा धेरै नाफा छ । तर, ती व्यवसायले विवरण सार्वजनिक नगर्दा तपाईंहामीलाई यथार्थ कुरा थाहा हुँदैन । र, बैंकको नाफामाथि अनेकौं टिक्काटिप्पणी गरिरहेका हुन्छौं ।

पहिले पहिले बैंकहरुको पुँजीको आकार सानो थियो । त्यसैले आरओई बढी थियो । तर, अहिले बैंकहरुको पुँजीको आकार धेरै गुणाले बढेको छ । र, अर्ब कमाउँदा पनि आरओई लगातार घटिरहेको छ ।

कोरोनाले ह्वात्तै घटायो बैंकहरुको नाफा, असार मसान्तमा के होला ?

पहिला बैंकको चुक्ता पुँजी २ अर्ब थियो । अहिले ८ अर्ब छ । पहिला रिजर्भको आकार पनि सानो थियो । अहिले रिजर्भ पनि धेरै ठूलो भएको छ । पहिला चुक्ता पुँजी र रिजर्भसहित गरेर ३ अर्ब रुपैयाँ पुँजी भएको बैंकले १ अर्ब नाफा कमायो भने ३५ प्रतिशत लाभांश दिने क्षमता राख्थ्यो ।

तर, अहिले त्यो बैंकको पुँजी १२ देखि १८ अर्ब रुपैयाँसम्म पुगेको छ । र, उसले ३ अर्ब नाफा कमायो भने पनि पहिलेको जति लाभांश दिने क्षमता राख्दैन । यसै कारणले पछिल्ला वर्षहरुमा बैंकहरुले दिने लाभांश पनि घटिरहेको हो ।

सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी भनिन्छ ।

बैंकहरुले ०७६ चैत मसान्तसम्मको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा औषतमा १.३७ प्रतिशतले आरओई घटेको छ ।

नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?

माघ, फागुन र चैतको एक त्रैमास हो । यो अवधिमा बैंकहरुले जम्मा २१ दिनमात्रै लकडाउनका कारण निर्वाधरुपमा काम गर्न पाएनन् । २१ दिन लकडाउन हुँदा पनि ३ महिनाको वित्तीय विवरणमा ठूलो असर देखिएको छ । बैशाख, जेठ र असारको त्रैमास भने बैंकहरुका लागि अझ बढी पीडादायी हुने निश्चित छ ।

०७६ चैत मसान्तको वित्तीय विवरण अनुसार २७ वटा वाणिज्य बैंकको औषत रिटर्न अन इक्विटी १४.२७ प्रतिशत छ । यो भनेको वाणिज्य बैंकहरुले आफ्नो स्वपुँजीमा कति १४.२७ प्रतिशत नाफा कमाए भन्ने हो । जबकी ०७५ चैत मसान्तमा बैंकहरुको औषत रिटर्न अन इक्विटी १५.६७ प्रतिशत थियो ।

२२ वाणिज्य बैंकको आरओई घट्यो

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको चैत मसान्तको तुलनामा ५ वटा वाणिज्य बैकको मात्र आरओइ बढेको छ भने २२ वटा बैंकको आरओइ घटेको छ । जसका सबैभन्दा बढी सनराईज बैंकको ४.९१ प्रतिशतले र सबैभन्दा थोरै स्ट्याण्र्ड चार्डर्ट बैंकको ०.१९ प्रतिशतले आरओइ घटेको छ भने हिमालयन, एसबीआई, मेगा, सिटिजन्स र सेन्चुरी बैंकको आरओई बढेको छ ।

हिमालय बैंकले गत अबको चैत मसान्तसम्मको १९.२१ प्रतिशत आरओइमा १.४२ प्रतिशत थप गरी चालु आवको चैत मसान्तसम्ममा २०.६३ प्रतिशत पुर्याएको छ ।

यस्तै नेपाल एसबीआई बैंकले गत वर्षको आरओईमा १.७५ प्रतिशत वृद्धि गरी १४.५० प्रतिशत, मेगा बैंकले २.१४ प्रतिशत वृद्धि गरी १५.७५ प्रतिशत, सिटिजन्स बैंकले ३.३१ प्रतिशत वृद्धि गरी १२.६८ प्रतिशत र सेञ्चुरी बैंकले गत आवको आरओइमा ३.५३ प्रतिशत वृद्धि गरी १२.२१ प्रतिशत पुर्याएको छ ।

कुन बैंकको कतिले घट्यो ? चार्टमा हेर्नुहोस् 

 आरओइ घट्दा बैंकको सेयरमा आकर्षण घट्ने

बैंकहरुले कमाएको नाफाको आधारमा सेयरधनीलाई बाढ्ने लाभांश कति पर्छ भन्ने आरओईले फरक पार्दछ । अहिले अधिकांस बैंकहरुको आरओइ गत वर्षको चैत मसान्तको तुलनामा घटेको छ । जसको कारणले बैंकहरुमा सेयरधनीहरुले गरेको लगानीको प्रतिफल घट्नुको साथै बैंकको सेयरमा आकर्षण घट्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘चैत मसान्तसम्म बैंकहरुको नाफामा कोरोनाको त्यति धेरै असर परेको थिएन,’ भट्टले क्लिकमाण्डूसँग भने ‘पुसबाट नै बैंकहरुको कर्जाको पोर्टफोलियो घटेका कारणले अहिले केही प्रतिशत नाफाको साथै प्रतिसेयर आम्दानी र आरओइ पनि घटेको छ ।’

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको असर बैकहरुको चोथो त्रैमासको वित्तीय विवरणमा देखिने उनले बताए ।

बैंकले राज्यलाई तिर्ने कर ३५ प्रतिशतले घट्ने

बैंकहरुको आरओइ घट्दा त्यो बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्नुको साथै बैंकले राज्यलाई तिर्ने कर पनि घट्ने कामना सेवा विकास बैंकका सीइओ प्रविण बस्नेतले बताए ।

‘नाफा घट्दा बैंकले मात्र नभएर राज्यलाई पनि नोक्सानी ब्याहोनु पर्छ,’ बस्नेतले क्लिकमाण्डूसँग भने ‘नाफा र आरओइ घट्नु भनेको बैंकले राज्यलाई तिर्ने कर पनि घट्नु हो ।’

गत आर्थिक वर्षको तुलनामा बैंकहरुले राज्यलाई बुझाउने कर्पोरेट ट्याक्स ३५ प्रतिशतले घट्न सक्ने उनको भनाइ छ । बैंकहरुले गत आवमा ६६ अर्ब रुपैयाँ नाफा कमाएर त्यसको ३० प्रतिशत सरकारलाई कर्पोरेट ट्याक्स बुझाएका थिए ।


पुष्प दुलाल