अब नयाँ मोडालिटी बनाएर हरेक क्षेत्रको बीमा गर्नुपर्छः नेको इन्स्योरेन्सका अध्यक्ष निरौला



काठमाडौं । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोभिड–१९ ले यतिबेला समग्र विश्वलाई आक्रान्त पारेको छ ।

नेपालमा पनि यसको संक्रमण फैलिरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । त्यसमध्ये १६ जना उपचारपछि निको पनि भइसकेका छन् । कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि गत चैत ११ गतेदेखि लकडाउन शुरु गरेको छ ।

सरकारले वा सम्बन्धित सरोकारवाला निकायहरुले पहिले के गरेनन् भनेर आलोचना गर्ने भन्दा अब यो समस्याबाट कसरी बाहिर निस्किन सकिन्छ त्यसतर्फ काम गर्नुपर्छ ।

अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकतामा जनस्वास्थ्यलाई नै राखेर नेपाललाई कोरोनामुक्त बनाउनुतर्पm लाग्नुपर्छ । मानिसको ज्यान रहेमा मात्र अर्थतन्त्रको कुरा आउँछ ।

भोलिका दिनमा संक्रमणको समय अझै बढ्दै गएमा त्यसको असर अर्थतन्त्रमा आजको भन्दाबढी पर्छ । कोरोनाको उपचारमा आजसम्म कुनै ठोस प्रकारका औषधिको प्रयोग भएको छैन् ।

संक्रमित देशहरु कोरोनामुक्त भए पनि यसको कुनै औषधि वा भ्याक्सिन पत्ता नलागेसम्म असर भने समाजमा रहिरहन्छ । त्यसले जनजीवन समान्य भने कहिले हुँदैन र आर्थिक गतिविधि पनि अहिलेकै अवस्थामा आउन सक्दैन् ।

नेपाललगायत कोरोनाको संक्रमण फैलिएका २१५ भन्दाबढी देशमा लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा देशका नागरिकलाई बचाउन र संक्रमण हुन नदिन गरिने कार्यहरु राज्यको पहिलो प्राथमिकताको विषय हो ।

अहिले अर्थतन्त्र जोगाउनभन्दा सरकार सबै कुरा छोडेर जनस्वास्थ्य क्षति हुन नदिनतर्फ लाग्नु पर्छ ।

नेपालमा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । अधिकांश जनता दैनिक ज्यालादारी गर्ने श्रमजीवि छन् । लकडाउनले गर्दा उनीहरुलाई अहिले हातमुख जोड्न समेत समस्या भइरहेको छ । राज्यलाई जनस्वास्थ्यसँगै दैनिक श्रमजीवि, कृषक तथा निम्न आय भएका जनतालाई पनि भोकमारीको समस्याबाट जोगाउनु छ ।

यस्तो अवस्थाका कारण देशको अर्थतन्त्र धेरै खस्किएको छ । जोसँगै विभिन्न क्षेत्रका उद्योग व्यवसाय, निमार्णका क्षेत्र, परियोजनाहरु साथै बैक तथा बीमा क्षेत्र पनि प्रभावित भएको छ ।

यसको कुनै औषधि वा भ्याक्सिन पत्ता लागेर संक्रमणको अवस्था अब केही समयमा सकियो भने नकारात्मक प्रभावबाट पूर्णरुपमा बाहिर निस्किन २/३ वर्ष नै लाग्छ । तर संक्रमणको समयलाई व्यवस्था गर्न सकिएन भने समस्याले कुन अवस्था लिन्छ कसैले अनुमान नै लगाउन सक्दैनन् ।

विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरिसकेका छन् । विश्वको अर्थतन्त्र नकारात्मक दिशामा जान्छ र एशियाको अर्थतन्त्र शुन्यमा झर्छ । जसमा एडीबीले नेपालको अर्थतन्त्र १ प्रतिशतसम्ममा झर्छ भनेर भनिसकेको छ ।

जीडीपी नै घटेर जाँदा त देशका सम्पूर्ण क्षेत्र प्रभावित हुन्छन् । तर संक्रमणको समयमा केही क्षेत्रहरुको व्यवसाय रोकिएको भने छैन् । जसमा बीमा क्षेत्रले पनि केही काम तथा कारोबारहरु सुचारु छन्, अझ व्यवस्थित तबरले गर्न सकिन्छन् ।

बीमा भनेको जोखिमलाई व्यवस्थापन गर्ने क्षेत्र हो । प्राकृतिक प्रकोप महामारीको बेलामा मानिसहरु बढी चासो दिएर बुझन् चाहन्छन् । यस्तो अवस्थामा सामान्यभन्दा बढी बीमा सम्बन्धी चेतनाको विकास हुन्छ । लकडाउनले गर्दा केही हदसम्म घटे पनि कोरोना भाइसरको महामारीबाट समाप्तीपछि भने बीमाको व्यवसाय धेरै वृद्धि हुन्छ ।

मानिसहरु यस्तो अवस्थामा हुँदा वा समस्याबाट बाहिर आएपछि बीमा सम्बन्धी र यसको उपयोगीताको बारेमा बाढी चासो राख्ने र बीमा गर्ने हुन्छ । एकपटक जोखिम उठाइसकेपछि मानिसहरुले पुनः सो जोखिम आफै उठाउन चाहन्दैनन् । त्यसैले अब राज्यले पनि बीमालाई अनिवार्य गराउनु पर्छ ।

अहिले बीमा समितिले कोरोना जोखिम व्यवस्थापनका लागि बीमा कोरोना बीमा पोलिसी ल्याएको छ । जसमा बीमा गराउनेहरुले कोरोना संक्रमित भएमा बीमा बापतको रकम कम्पनीहरुले उपलब्ध गाराउँछन् । यस प्रकारका बीमा पोलेसीले धेरैलाई बीमाको दायरामा ल्याउने काम गर्छ ।

सरकारले ३ करोड नेपालीहरुले नै कोरोना बीमा गर्न अनिवार्य गर्यो र त्यसमा केही सहुलियत आफ्नो तर्फबाट पनि दिनु आवश्यक छ । यसरी ३ करोड नेपाली जनसंख्याले नै बीमा गराउँदा बीमा सम्बन्धी सचेतना शतप्रतिशत फैलियो ।

हरेक समस्या तथा आपत विपतमा राज्यले केही सहयोग तथा राहत त दिन्छ तर सबै जोखिम त राज्यले बहन गर्ने अवस्था रहदैन् । भैपरी आउने जोखिमको पूर्व अनुमान गरेर बीमा गरेमा प्राकृतिक विपद् वा यस्ता महामारी फैलँदा त्यसको जोखिम त बीमा कम्पनीहरुले बहन गर्छन् ।

प्राकृतिक प्रकोप तथा महामारीमा राज्यले दिने सहुलियतसँगै बीमा कम्पनीहरुले दिने संरक्षण जनतालाई अत्यावश्यक हुन्छ । बीमा गराउँदा विपत्ति वा संकटको अवस्थामा आर्थिक सहयोग गर्ने काम गर्छ ।

यस्ता महामारी भनेको प्राकृतिक प्रकोप नै हुन् । हामीले प्रकृतिलाई जितेर जान सक्दैनौँ । प्राकृतिक प्रकोपलाई मानिसले केही गरे पनि रोक्न नसक्ने हुँदा यस्ता प्रकोपले पुर्याउने क्षतिको लागि भने हामीले पूर्व सावधानी अपनाउनु पर्छ । यो महामारीको असर चौतर्फीरुपमा आर्थिक, सामाजिक, मानसिक, धार्मिकलगायत सबै क्षेत्रमा परिरहेको छ । अबका दिनमा भने हरेक क्षेत्रमा परिवर्तन आउँछ ।

यसप्रकारका परिवर्तन बीमा क्षेत्रमा पनि हुन्छ । बीमा क्षेत्रको परिवर्तन भने सकारात्मक हुन्छ । हिजोको दिनमा भूकम्प आउँदा मानिसमा बीमा सम्बन्धी सचेतना बढेर बीमाको पहँचमा वृद्धि भएको थियो ।

यो महामारीले पनि पुनः बीमाको सचेतना बढेर राम्रोसँग बीमा व्यवसाय बढ्छ । अब सरकारले पनि देशमा भएका जति पनि पूर्वाधार तथा पुरातात्विक सम्पदा छन् ती सबैको बीमा गराउनुपर्छ । राज्यको नियन्त्रणमा भएका सबै स्रोत र साधानको बीमा सरकारले गराउनु पर्छ ।

सरकारको नियन्त्रणमा भएका भवन, मोटर गाडीलगायत सजीव तथा निर्जीवन सबै सम्पत्तिको बीमा हुनपर्छ । सरकारले आफ्नो तर्फबाट यसप्रकारका काम गरेमा मात्र निजी क्षेत्रमा रहेका उद्योग, व्यवसाय, घर गाडी तथा सबै सम्पत्ति तथा व्यवसायको बीमा हुन्छ ।

हिजोको दिनमा यदि रानीपोखरी, धरहरा, बसन्तपुरलगायतका बिभिन्न दरबार संग्राहलय तथा मठ मन्दिर, सम्पदाहरुको बीमा भएको भए आज सोको पुनः निर्माणका लागि विदेशी निकायहरुसँग सहयोग माग्नु पर्दैन् थियो ।

जति नै ठूलो क्षति भए पनि बीमा कम्पनीहरुले त्यसको आर्थिक भार दिन्थ्यो । आजसम्म निर्माण हुन नसकेका सम्पदाको बीमा त्यो समय सरकारले गरेको भएका ती सबै पुनःनिर्माण भइसक्थ्यो ।

अब यो कुरा राज्यले पनि बुझेर विगतमा गरेको गल्तीलाई सच्याउनु पर्छ । यस्ता प्रकारका सचेतना सरकार र जनतामा नै वृद्धि हुन सकेमा आज २÷३ महिना बीमा व्यवसाय घटे पनि त्यसपनि भने बीमाको पहँच बढेर व्यवसाय पनि बढ्छ ।

हिजोको दिनसम्म हामी आयतामुखी अर्थतन्त्रमा रमाएका थियौँ । जसमा सबैभन्दा बढी रेमिट्यान्सले हामी बाचेका थियौ भन्दा फरक पर्दैन । अबका दिनमा भने त्यो रहँदैन ।

कोरोना भाइसरको महामारीको कारण विकसित मुलुकको अर्थतन्त्र पनि थिल्थिलो भएको छ । विश्व बैंकले सन् १९३० भन्दा तल रेमिट्यान्सको अवस्था रहन्छ भनेर प्रक्षेपण गरिसकेको कारणले पनि अब नेपाल पनि रेमिट्यान्सको निर्भताबाट बाहिरिन्छ ।

विकसित मुलुकको अर्थतन्त्र पनि धरासायी भएको अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा गएका धेरै नेपालीलाई ती देशले घर फर्काउने निर्णय पनि गरिसकेको अवस्था छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरु पनि दक्ष र अदक्ष गरी २ प्रकारका छन् ।

जसमा दक्ष जनशक्तिालाई त आवश्यकता अनुसार विदेशी कम्पनीहरुले रोगजारीमा नै राख्लान र नेपाल फर्किएर पनि उनीहरुले आफ्नो दक्षता, सीप अनुसारको काम गरेर खान सक्ने समर्थ उनीहरुमा हुन्छ । तर नेपालबाट सीप नसिकी विदेशमा अदक्ष वा अर्ध दक्ष युवाहरुले विदेशमा पनि काम पाउँदैनन् भने नेपाल फर्किएर पनि उनीहरुलाई रोजगारी दिन समस्या हुन्छ ।

नेपालबाट वैदेशीक रोजगारीमा विदेशीएका नेपालीमध्ये अधिकांश खाडी मुलुकमा गएका छन् । खाडी मुलुकहरुको प्रमुख आयस्रोत भनेको पेट्रोेलियम पदार्थ हो । अहिले पेट्रोलियम पदार्थको मुल्य घटेर ५० वर्ष पछाडि पुगेको छ ।

तेल बेचेर चलेका मुलुकहरुले कोरोना भाइसरको असरका कारण उनीहरुको अर्थतन्त्र नै धरासायीमा परेको छ । त्यस कारणले पनि उनीहरुले विदेशी कामदारलाई स्वदेश फर्काउने हुन् ।

विदेशबाट नेपाली युवा फकिएपछि नेपालले पनि अब अर्थतन्त्रको कोष नै परिवर्तन गर्नुपर्छ । हिजो आयातमूखी अर्थतन्त्र रहेकोमा अब आयातित वस्तुलाई विस्थापित गर्ने कार्ययोजना बनाएर काम गर्नुपर्छ ।

आन्तरिक उत्पादन बढाउन सरकार तथा स्वयम जनता पनि लाग्नुपर्छ । आज पनि नेपाली किसानहरुले फलाएका तरकारीहरु बारीमा नै कुहिएका छन् भने भारतबाट आयात गरिएका करोडौँका तरकारी, फलफुलहरु हामीले खरिद गर्न बाध्य छौँ ।

सरकारले आन्तरिक उत्पादन मात्र बढाउने होइन कि त्यसको बजारीकरण गर्न पनि कार्ययोजना पहिले नै बनाउनु पर्छ ।

नेपालमा धेरै उद्योगहरु आयातित कच्चा पदार्थमा आधारित उद्योग छन् । सरकारले अब भने आन्तरिक उत्पादनका कच्चा पदार्थबाट नै सञ्चालन गर्न सकिने उद्योगहरुको विकास गर्नु पर्छ । कृषि उत्पादनका उद्योग व्यवसायहरुको विकास विस्तार गर्न सकिएमा त्यसले उद्योग व्यवसायको विकास भएपछि बीमा व्यवसाय स्वतः बढ्छ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सो स्वास्थ्य बीमा जनताले आफुखुसी गरिरहेका छन् । तर अब भने सरकारले सम्पूर्ण जनताको स्वास्थ्य बीमा गराउने जिम्मेवारी लिनुपर्छ ।

त्यसमा सरकार, बीमा समिति, बिमक र सम्बन्धीत विज्ञहरु बसेर छलफल गर्न आवश्यक छ । हिजोको मोडालिटीबाट अब बीमा क्षेत्र चल्दैन् । नयाँ मोडालिटी कस्तो बनाउने त्यसको निश्कर्ष चाँडौ गर्नुपर्छ । आगामी दिनका लागि नयाँ मोडालिटी बनाएर बीमा कम्पनीहरुलाई सञ्चालन गर्न सकिएमा बीमा क्षेत्रको राम्रो छ ।


क्लिकमान्डु