आयातित वस्तुको भुक्तानी बैंकबाट गर्दा सक्कली कागजात नचाहिने



काठमाडौं । अब लेटर अफ क्रेडिट (एलसी) भुक्तानीको लागि सक्कली प्रमाण पत्र आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै बैंकहरुबाट एलसी खोलेर अन्य मुलुकहरुबाट सामानहरु आयात गर्ने व्यवसायीहरुले सक्कली कागजातको प्रतिलिपीको आधारमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

कोरोना भाइरस संक्रमणको कारण हाल कुरियरहरु रोकिएको कारण सक्कली कागजात प्राप्त हुन नसक्ने हुँदा सो व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

‘सामानहरुको आयात रोकिएको छैन तर त्यसको कागजात आउने कुरिअर भने रोकिएको छ,’ उनले भने ‘सामानको भुक्तानी नरोकियो भनेर विद्युतिय माध्यमबाट प्राप्त भएको कागजातको आधारमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।’ आयातित वस्तुको भुक्तानी गर्न भुक्तानी निर्देशनको प्रमाणिकरण एसडब्लुएफटी तोकिएको बैंकबाट हुनु पर्ने उनले बताए ।

यसरी भुक्तानी गर्दा सक्कली कागजात तथा सो अनुसारको सामान प्राप्त नभएमा र विदेशी विनिमय अपचलन भएमा भुक्तानीको आवेदक स्वयम हुनु पर्नेछ । यस प्रकारको सुविधा डिडिए र डिएए मार्फत हुने आयतमा भने लागु नहुने राष्ट्र बैंकले जनाएको छ । साथै विद्यामान प्रावधानहरु पालना हुनेगरी व्यापारीक फर्महरु खोलेको उपयोग एलसीको अवधि २०७७ असार मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ ।

थप गरिएको अवधि शुल्क/ब्याज तिर्नुपर्ने भएमा ६ महिना लेवर प्लस ३ प्रतिशतप्रति वर्ष भन्दा बढी तिर्न नपाईने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु