नागरिक लगानी कोषले सेवाग्राहीलाई ब्याजमा छुट दिने
काठमाडौं । नागरिक लगानी कोषले कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिने भएको छ । कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्नेलाई ब्याजमा छुट दिने भएको छ ।
उक्त कर्जाको ब्याज रकममा छुट समेत गरी २०७६ चैत देखि २०७७ असारसम्मको ब्याज असार भित्र बुझाएमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कोषको संचालक समितिको वैशाख ४ गते बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दे उक्त निर्णय गरेको हो ।
कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।
यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।