कोरोना भाइरसविरुद्ध लड्न पाइला टेक्नोलोजीले बनायो ‘यूभी डिसइन्फेक्सन रोबर्ट’



फाइल फोटो

काठमाडौं । नेपाली स्टार्ट अप कम्पनी पाइला टेक्नोलोजीले कोरोना भाइरसविरुद्ध लड्न उपयोगी हुने यूभी डिस्इन्फेक्सन रोबर्ट निर्माण गरेको छ ।

कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यो रोबर्ट उपयोगी हुने कम्पनीका संस्थापकमध्येका एक दीपकमल भुसालले जानकारी दिए ।

‘लकडाउन शुरु भएपछि यसको आइडिया आएको थियो, झण्डै ३ साता लगाएर निर्माण गरेका छौं, लाइटमार्फत् किटाणु नस्ट गर्नका लागि उपयोगी हुन्छ,’ उनले भने ।

उनका अनुसार विभिन्न सार्वजनिक स्थानमा भाइरसको संक्रमण भएको हुन सक्छ त्यस्ता ठाउँमा मानिस जानुभन्दा अघि रोबर्टले लाइटमार्फत् स्टेरलाइजेसन गर्छ । कम्पनीका अनुसार यो रोबर्ट अस्पताल, बैंक, विमानस्थल, सपिङ मल, सुपरमार्केट, वायरहाउस, होटल, कार्यालय र सार्वजनिक स्थानमा समेत राख्न सकिन्छ ।

कम्पनीले निर्माण गरेको अल्ट्राभ्वाइलेट डिस्इन्फेक्सन टेक्नोलोजीले अटोमेटिक प्रक्रियाबाट किटाणुरहित बनाउन सहयोग पुर्याउँछ । यसले कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउनेछ । मानिसहरुको भीड हुने स्थानमा यो बढी उपयोगी हुने कम्पनीको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम भएका स्थानमा पहिले रोबर्टले लाइटमार्फत् किटाणु नस्ट गर्छ । हाल यसको मूल्य निर्धारण भने गरिएको छैन ।

कम्पनीले निर्माण गरेको यूभी डिस्इन्फेक्सन रोबर्ट

कम्पनीका अनुसार हाल एउटा मात्रै रोबर्ट निर्माण गरिएको र माग अनुसार दैनिक १० वटाभन्दा बढी उत्पादन गर्न सकिने भुसालले जानकारी दिए ।

इन्टरनेशनल फेडेरेसन अफ रोवटिक्सका अनुसार यूपी डिस्इन्फेक्सनको प्रमाणिकता ९९.९९ प्रतिशत छ । यस्ता रोवर्ट प्रयोग गर्न सहज हुनुका साथै सम्भावित संक्रमणको जोखिमबाट बचाउन निकै उपयोगी सिद्ध हुँदै आएको छ ।

कम्पनीका अनुसार अन्य २ वटा प्रविधिमा पनि काम गरिरहेको छ । कम शुल्कमा भेन्टिलेटर तथा नर्सिङ रोबर्ट पनि निर्माणको प्रक्रियामा रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नयाँ प्रडक्टबारे निकट भविष्यमै सार्वजनिक गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु