टेलिकमले थप्यो स्टे कनेक्टेड अफरको समय, डाटा र भ्वाईस प्याकमा छ यस्तो अफर



काठमाडौं ।  विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो ।

थप गरिएका ८ दिनमा कम्पनीका ग्राहकले जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

दोश्रो प्याकेजमा २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । १ सयमा बोनससहित कुल ४ जीबी र २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ रुपैयाँ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँ ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र यूएसएसडी बाट खरिद गर्न सकिन्छ । यूएसएसडी बाट खरिद गर्न *1415*10# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइट बाट प्राप्त गर्न सकिन्छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् ।

अहिले टेलिकमको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा. ५ सय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु