लकडाउनमा रिचार्ज कार्ड पाउनु भएन ? टेलिकमले ल्यायो यस्ता विकल्प



काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहिहरुले रिचार्जको लागि कार्ड नपाउनुभएको छ ? यदि छ भने टेलिकमले त्यसको विकल्प ल्याएको छ ।

टेलिकमले महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचार्ज कार्ड, मोबाइल भुक्तानी सेवा तथा केआईओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन÷मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका भिषा, मास्टर्ड कार्डको विकल्पहरु उपलब्ध रहेका जनाएको छ ।

त्यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup मा उपलब्ध गरिएको छ ।

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाई हुनसक्ने देखिएको छ ।

ग्राहकवर्गले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीका आधिकारिक एनपीओएस सेवा प्रदायकहरुमा स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सक्नेछन् ।

यस्तै भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ति, आईएमई पेई आदि एपहरुको प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिने छ ।

यस्तै विभिन्न बैंकमा रहेको खातामा भएका अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बैंकको वेवपेज वा मोबाइल एप प्रयोग गरी सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिने वनाएको छ ।

यस्तै बैंकहरुले दिने भिषा कार्ड, मास्टर्ड कार्ड, डेविट कार्ड, क्रेडिट कार्ड वा एटिएम कार्डको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ ।

त्यसपछि आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मितिमा पहिला महिना अनी वर्ष राख्ने, कार्ड होल्डरको नाम र कार्डको पछिल्लो भागमा छापिएको तीन अंक तथा इमेल टाइप गरी ओके गर्नुपर्दछ ।

साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ । उक्त महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट  *422*SCode*MobileNumber*AmountInRupees#  डायल गर्नु पर्दछ । यसमा उल्लेख गरिएको सेक्युरिटी कोड प्राप्त गर्न  एससीओडीई टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxx  मा २ सय रुपैयाँ ट्रान्सफर गर्न 422*SCode*9841xxx*200#  डायल गर्नु पर्दछ । यूूएसएसडी कोडको अलावा नेपाल टेलिकमको मोबाइल एप बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।


क्लिकमान्डु