अर्थतन्त्रलाई जोगाई राख्न सरकारकाे दीर्घकालीन राहत आवश्यकः परिसंघ



काठमाडौं । कोरोना भाइरसको कारण अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न नेपाल राष्ट्र बैंकले चालेका कदमको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाईराख्न सहयोग पुग्ने परिसंघले विश्वास लिएको जनाएको छ । विभिन्न समयमा परिसंघले उठाउदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको र यसले निजी क्षेत्रको मनोवललाई जोगाई राख्न मद्दत पुग्ने विश्वास रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले वित्तिय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको र देशको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गरिब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकोले उक्त निर्णय पनि अत्यन्त सकारात्मक भएको परिसंघको ठहर छ । हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ ।

जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक रहेको छ । हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको भएको भन्दै यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन सरकार लगायत सवै सरोकारवालासँग आग्रह गरेको छ ।


क्लिकमान्डु