काउन्टर साइक्लिकल बफर स्थगन, कर्जा प्रवाह गर्न बैंकहरु स्वतन्त्र



काठमाडौं । बैंकहरु काउन्टर साइक्लिकल बफर कायम गर्नु नपर्ने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकहरुले २०७७ असार मसान्तसम्म २ प्रतिशत काउन्टर साइक्लिकल बफर राख्नु पर्ने निर्देशनलाई स्थगन दिएको गरेको हो ।

राष्ट्र बैंकले आइतबार जारी गर्दै क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भए बमोजिमको काउन्टर साइक्लिकल बफर स्थगन गरिएको उल्लेख गरेको छ ।

कोरोना भाइरस संक्रमणको अवस्था बैंकहरुको ऋण दिने क्षमताको विकास गराउने उद्देश्यले सो व्यवस्था स्थगन गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘पहिले काउन्टर साइक्लिकल बफर अनुसार बैंकहरुले थप पुँजी नजुटाई ऋण दिन पाउँदैन थिए,’ भट्टले क्लिकमाण्डूसँग भने ‘कर्जा प्रवाह गर्न उनीहरु निश्चित सीमामा बाधिएका थिए ।’

अब बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज भएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थीतिलाई ध्यानमा राख्दै राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ दिएको अधिकारको प्रयोग गरी सो निर्देशन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

काउन्टर साइक्लिकल बफर स्थगन गरेसँगै बैंकहरुसँग थप लगानी गर्न सक्ने क्षमता बढ्ने उनले बताए ।

‘बैंकहरुले थप लगानी गर्न सकुन भनेर हामीले यो व्यवस्था गरेका हौं,’ भट्टले भने ।


क्लिकमान्डु