हवाई कार्गो सेवालाई सुचारु राख्न परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन हवाई कार्गो सेवालाई सुचारु राख्न आग्रह गरेको छ ।

परिसंघले चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी वस्तुको अनलोड र ढुवानीको वन्दोवस्त मिलाई अत्यावश्यक वस्तुको उत्पादन र वितरण प्रणालीलाई सुचारु राख्ने आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

अत्यावश्यक सेवा तथा उत्पादन मात्र सञ्चालन गर्ने सरकारको आदेशलाई सबै क्षेत्रले प्रभावकारी कार्यान्वयन गरे प्रकोप नियन्त्रणमा सकारात्मक परिणाम देखिने विश्वास परिसंघले लिएको जनाएको छ । अत्यावश्यक सेवा तथा उत्पादन क्षेत्र बाहेकका अन्य उद्योग तथा व्यवसायको काम स्थगित गरेर नोवल कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने सरकारको कदममा जिम्मेवारीपूर्वक सघाउन परिसंघ आफ्ना सदस्य उद्योग, प्रतिष्ठान, संघ संस्था, साझेदारहरु तथा सबै समुदायलाई आग्रह गरेको छ ।
स्वास्थ्य संकटको यो घडीमा आ–आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत परिसंघ अध्यक्ष सतिस कुमार मोरले विशेष अनुरोध गरेका छन् ।

परिसंघका अध्यक्ष मोरले ‘अत्यावश्यक सेवा तथा उत्पादनमा रहने उद्यमी व्यवसायी तथा श्रमिक वर्गले पनि कार्यस्थलमा एक अर्काबीच आवश्यक भौतिक दूरी कायम गरी आफू र आफ्नो समुदायको स्वास्थ्यलाई ख्याल गर्दै अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन समेत अपिल गरेका छन् ।

स्वास्थ्य संकटसँग जोडिएर आएको विषम आर्थिक संकटको गहिराइ मापन, यसको मूल्यांकन र गहन अध्ययनलाई परिसंघले अघि बढाएको पनि अध्यक्ष मोरले उल्लेख गरेका छन् । अहिलेको अवस्था केही सहज हुनासाथ यसबाट उत्पन्न हुन सक्ने आर्थिक नोक्सानी र विषम अवस्थाबाट केही हदसम्म भए पनि उद्धार गर्दै सामान्य अवस्थामा फर्किन सहज होस् ।


क्लिकमान्डु