बैंक र बीमा बन्द नहुने



काठमाडौं । कोरोनाका कारण देशका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएपनि बैंकिङ क्षेत्र भने बन्द नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेका छन् । ओलीले घोषणा गरेपनि बैंकिङ क्षेत्र भने बन्द नहुने भएको छ ।

आइतबारदेखि सेयर कारोबार बन्द

ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने जानकारी गराएका छन् ।

यता नेपाल राजपत्रमा १५ नम्बरमा बैंकिङ सेवा र १६ नम्बरमा बीमा सेवालाई अत्यावश्यक सेवामा राखिएको छ । बैंकिङ क्षेत्र अत्यावश्यक सेवामा परेका कारण बन्द नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टका अनुसार नेपाल राजपत्रका बैकिङ सेवा भएकोले यो बन्द हुँदैन, सञ्चालनमा नै रहन्छ । उनले बैंकिङ क्षेत्र लगायत सबैले सचेतनाका साथ काम गर्न आग्रह गरेका छन् ।

यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि बीमा सेवा अत्यावश्यक सेवा भित्र परेकाले बन्द नहुने बताएका छन् ।


क्लिकमान्डु