कम उमेर मै छाला चाउरी पर्ने समस्या, कारण र निदान



प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो छाला । मानव शरीरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकाले पनि यसको हेरचाह वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ ।

के हो छाला ?
९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने यो अंग शरीरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले २ भागमा वर्गीकरण गरिन्छ, डर्मिस र इपिडर्मिस ।

किन चाउरी पर्छ त छाला ?
बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविक नै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरीरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी (भिटामिन ए, सी प्रोटिन) मानसिक तनाव, अत्यधिक चुरोट सेवन, थाइराइड हर्मोनको उतारचढावलगायतका कुराहरु यसका लागि मूलतः जिम्मेवार छन् ।

कम उमेरमै छाला चाउरी पर्नबाट रोक्न के गर्ने ?
वास्तवमा हामीले अपनाउने जीवनशैलीमा परिवर्तन गर्नु नै समस्याको निदान हो ।

कस्ता खानेकुराहरु छालाका निम्ति उपयुक्त मानिन्छन् ?
स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरु नै सेवन गर्नु राम्रो हुन्छ । त्यति मात्र होइन गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरु पनि छालाको निम्ति अपरिहार्य छन् ।

स्वस्थ छालाको लागि कुन क्रिम उपयुक्त छ त ?
मुख्यतः यसमा छाला रोग विशेषज्ञले दिने सुझाव नै निर्णायक हुन्छ तर सर्सर्ती हेर्दा सुख्खा छालाका लागि हामीले मोस्चराइजरको अधिकतम प्रयोग गर्नु पर्दछ । यसमा आयल बेस मोस्चराइजरको छनौट गरेमा राम्रो मानिन्छ भने आयली छालामा छिटो सुक्ने खालको मोस्चराइजर प्रयोग गर्नु पर्दछ । तथा धेरै मोस्चराइजर प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । आजकाल बजारमा पाइने क्रिमहरुमा स्टेरोइड मिक्स भएका क्रिमहरुले मानव शरीरको छालामा गम्भीर समस्याहरु देखाइरहेका छन् ।

यस्ता क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुको साथै छाला पातलो हुने रिंकल पर्ने विमिरा देखिने हुने गरेको देखिन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नुपूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नु पर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन ।

प्राकृतिक रुपमा पनि छालालाई चाउरिपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन्– जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा १ रात भिजाएर हप्तामा १ पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ भने चाउरी सकेको छालालाई पाकेको (पहेँलो) काँक्रोलाई १ इन्चका टुक्राहरु बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँछ ।


क्लिकमान्डु