बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका विभिन्न बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसै साता जारी गरेको कर्मचारी विनियमावलीमा १३ प्रकारका बिदा पाउने उल्लेख छ ।

कर्मचारीहरुले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भैपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसुती स्याहार बिदा, किरिया बिदा, विशेष बिदा, विवाह बिदा, वार्षिक तथा अनिवार्य बिदा, असाधारण बिदा, अध्ययन तथा तालिम बिदा, संक्रमण रोग लागेमा पाइने बिदा गरी १३ प्रकारका बिदा पाउने उल्लेख छ ।

१) सार्वजनिक बिदाः

बैंक/वित्तीय संस्थामा लागू हुने सार्वजनिक बिदा हरेक वर्ष समितिले तोके बमोजिम हुनेछ । समितिले बिदा तोक्दा राष्ट्र बैंकले तोकेको बिदालाई मार्गदर्शनको रुपमा लिनेछ ।

२) घर विदाः

(क) प्रत्येक कर्मचारीले बैंक/वित्तीय संस्थामा काम गरेको अवधिको १८ दिनको १ दिनका दरले घर बिदा पाउने छन् र यस्तो घर बिदा वर्षको २० दिनभन्दा बढी हुने छैन । आर्जित गरेको घर बिदा ९० दिनसम्म संचित गर्न पाउनेछ र सोभन्दा बढी संचित बिदाको निजले पाउने तलबभत्ता बराबरको रकम भुक्तानी दिन वा अनिवार्य रुपमा बिदामा बस्न लगाउन सकिनेछ ।

२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)

कर्मचारीले घर बिदा लिँदा त्यस्तो बिदाको अवधिभित्र अरु कुनै बिदा पर्न गएमा त्यस्तो बिदा घर बिदामा समावेश गरिनेछैन । कुनै कर्मचारीले राजीनामा दिएमा वा स्वास्थ्यको कारणबाट अवकाश पाएमा वा सेवा निवृत्त भएमा वा मृत्यु भएमा वा उपदान पाएमा वा कुनै कारण सेवाबाट अलग भएमा निजको सञ्चित घर बिदा वापत निजले खाईपाई आएको तलबभत्ता बराबरको रकम भुक्तानी दिइनेछ ।

(ख) घर बिदा बसेको कर्मचारीले पुरा तलव भत्ता पाउनेछ ।

३) बिरामी बिदा

कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको बिरामी बिदा पाउनेछन् । बिरामी बिदा संचित गर्न पाइनेछ ।

यस्तो संचित बिरामी बिदावापत कर्मचारीले खाईपाई आएको तलवभत्ताको आधारमा हिसाव गरी कर्मचारी सेवाबाट अलग भएका बखत वा ४५ दिनभन्दा बढी बिदा संचित भएपछि कर्मचारीले रकम लिन चाहेमा ४५ दिन विदा संचित राखी बढी दिनको विदाको रकम एकमुष्ठरुपमा प्रदान गरिनेछ ।

४) भैपरी आउने बिदा

(क) कर्मचारीले वर्षमा १२ कार्य दिन पूरा तलबभत्ता सहितको भैपरी आउने बिदा पाउनेछन् ।
(ख) यो बिदा अर्को आर्थिक वर्षको लागि संचित हुने छैन ।
(ग) यो बिदा आधा दिन पनि लिन सकिनेछ ।
(घ) यो बिदा एकपटकमा बढीमा लगातार ३ दिनभन्दा बढी लिन पाइने छैन ।
(ङ) यो बिदा अन्य बिदामा गाभिने छैन ।
भैपरी आउने बिदा गणना गर्दा यस्तो बिदाको बीचमा परेको सार्वजनिक बिदाका दिनलाई गणना गरिने छैन ।

५) मातृत्व संरक्षण बिदा

(क) गर्भवती महिला कर्मचारीलाई प्रसुति हुनुभन्दा अघि वा पछि सेवा अवधिमा २ पटक सबै सुविधा सहितको मातृत्व संरक्षण बिदा दिइनेछ ।

(ख) बैंक/वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि र पछाडि गरी १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउनेछ । यस्तो विदामा बस्ने कर्मचारीले ६० दिनसम्म पूरा तलव भत्ता पाउनेछ र ६० दिनभन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गर्न सकिनेछ ।

यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

(ग) गर्भवति महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तीमा एक हप्ता अगाडिदेखि अनिवार्य बिदामा बस्नुपर्नेछ । सम्बन्धित कर्मचारीले माग गरेमा यस्तो बिदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिनेछ । यस्तो विदा अन्य संचित बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गरिनेछ ।

(घ) मातृत्व संरक्षण बिदा कुल सेवा अवधिमा २ पटकसम्म प्रदान गरिनेछ ।

(ङ) ७ महिना वा सोभन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा समेत यस विनियम बमोजिम बिदा दिइनेछ ।

(च) निसन्तान कर्मचारीले ६ महिना उमेरसम्मको शिशुलाई कानून बमोजिम धर्मपुत्र/धर्मपुत्री राखेमा निजलाई समेत यस विनियम बमोजिमको बिदा सुविधा प्रदान गर्न सकिनेछ ।

(छ) महिला कर्मचारीले आफु गर्भवति भएको जानकारी वैक÷वित्तीय संस्थालाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले निजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा लगाईने छैन ।

(ज) मातृत्व संरक्षण र प्रसुती स्याहार बिदा लिन चाहने कर्मचारीले संभावित मिति उल्लेख गरी एक महिना अगावै बैक÷वित्तीय संस्थालाई लिखित जानकारी दिनुपर्नेछ ।

(ञ) मातृत्व संरक्षण बिदामा रहेको महिला कर्मचारीले त्यस्तो बिदा समाप्त भएको मितिले ३ महिनाभित्र बैक/वित्तीय संस्थामा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । कुनै कारणले त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने भएमा शिशु जन्मेको अस्पताल वा स्वास्थ्य चौकीले दिएको शिशु जन्मेको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) पेश गरी बिदा स्वीकृत गराउन सकिनेछ ।

(ट) कुनै महिला कर्मचारी वा वैक/वित्तीय संस्थाको कर्मचारीको पत्नीको गर्भ पतन भएको वा मृत शिशु जन्मेको रहेछ भने त्यस्तो कर्मचारीले सम्बन्धित अस्पताल वा स्वास्थ्यचौकीले दिएको सोव्यहोरा पुष्टि हुने प्रमाण/प्रतिवेदन (मेडिकल रिपोर्ट) पेश गरेको अवस्थामा पनि यस विनियम बमोजिमको सुविधा प्रदान गर्न सकिनेछ ।

६) प्रसुति स्याहार बिदा

(क) पुरुष कर्मचारीलाई निजको श्रीमती प्रसुति भएको अवस्थामा कुल सेवा अवधिमा २ पटकसम्म प्रत्येक पटक १५ दिनका दरले पूरा तलबभत्ता सहितको प्रसुती स्याहार बिदा दिइनेछ ।

(ख) बच्चा जन्मेको १४ हप्ता नपुग्दै शिशुको आमाको मृत्यु भएमा त्यस्तो शिशुको स्याहारका लागि पुरुष कर्मचारीलाई समेत खण्ड (घ) मा उल्लेख भए बमोजिम बाँकी विदा औचित्यताको आधारमा दिन सकिनेछ ।

७) किरिया बिदाः

कुनै कर्मचारीको आमा, बुबा, श्रीमान्, श्रीमती र छोरा छोरीको मृत्यु भई आफैकिरिया बस्नुपर्ने भएमा १५ दिनसम्म किरिया बिदा पाउनेछ । महिला कर्मचारीको हकमा सासु, ससुराको मृत्यु भएमा वा कुल धर्म अनुसार निजको श्रीमान आफै किरीया वसेको अवधिमा श्रीमतीलाई समेत किरिया बिदा प्रदान गरिनेछ । यो बिदामा बसेको कर्मचारीले पूरा तलब भत्ता पाउनेछ ।

८) विशेष बिदा

कम्तीमा ५ वर्षसम्म बैंक/वित्तीय संस्थामा सेवा गरेको कुनै पनि स्थायी कर्मचारीले आफ्नो संचित बिदा लिई सकेपछि पनि आफ्नो घरायसी व्यवहार वा विरामीका कारणले बिदा नबसी नहुने परिस्थिति परेमा एक आर्थिक वर्षमा बढीमा १५ दिनसम्म र नोकरी अवधि भरमा ६० दिनसम्म विशेष विदा दिन सकिनेछ । यस्तो विदा बेतलबी हुनेछ ।

९) विवाह बिदा

कर्मचारीलाई निजको विवाहका लागि सम्पूर्ण सेवा अवधि भरमा एकपटक ३ दिनको विवाह बिदा प्रदान गरिनेछ । विवाह बिदामा बस्दा बिदाको तलवभत्ता प्रदान गरिनेछ ।

१०) वार्षिक बिदा/अनिवार्य बिदा
कर्मचारीलाई वर्षमा न्यूनतम ७ दिन कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुविधा सहितको अनिवार्य बिदा दिइनेछ । यो बिदा लगातार लिएको हुनुपर्नेछ । अनिवार्य बिदा सात दिनभन्दा बढी भएको खण्डमा बढीमा २ पटक गरी दामासाहीले टुक्रा गरेर लिन सकिनेछ । यो बिदामा सार्वजनिक बिदा परे पनि गणना गरिनेछ । यो बिदा संचित गर्न पाइने छैन ।

११) असाधारण बिदा

सामान्य अवस्थामा कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन । तर मनासिव कारणसहित अनुरोध भई व्यवस्थापनले उचित ठानेमा कर्मचारी सेवा सुविधा समितिको सिफारिसमा समितिले कम्तिमा १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा प्रदान गर्न सक्नेछ । उक्त बिदामा बसेको कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिइने छैन ।

यो अवधिलाई सेवा अवधिमा गणना गरिने छैन । विशेष बिदालगायत अन्य संचित बिदा बाँकी नरहेको स्थितिमा मात्र असाधारण विदा प्रदान गर्न सकिनेछ ।

१२) अध्ययन/तालीम बिदा

बैंक/वित्तीय संस्थामा ३ वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको सर्त बन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा नोकरी अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा ५ वर्षसम्मको आधा तलब पाउने गरी अध्ययन बिदा पाउन सक्नेछ । बैंक/वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलव भत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्नेछ ।

१३) संक्रामक रोग लागेमा बिदा बस्न आदेश दिन सकिने

(१) कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र बिदामा बस्नका लागि बिदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्नेछ ।

(२) उपविनियम (१) बमोजिमको निर्देशन पालना गर्नु सम्वन्धित कर्मचारीको कर्तव्य हुनेछ । (३) कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी बिदा बाँकी नभएमा अन्य बिदा स्वीकृत गर्न वा वेतलबी बिदामा पठाउन सकिनेछ ।

बिदामा बसेको कर्मचारीलाई काममा लगाउन सकिने व्यवस्था पनि विनियमावलीमा उल्लेख छ ।

किरिया बिदा, मातृत्व तथा प्रसुती स्याहार बिदा, अनिवार्य घर बिदा र बिरामी बिदामा बसेको कर्मचारीलाई बाहेक अन्य बिदा स्वीकृत गराई बसेका कर्मचारीलाई बैंक/वित्तीय संस्थाले आवश्यकता अनुसार बोलाई काममा लगाउन सक्नेछ ।

यसरी बिदाको अवधिको बीचमै बोलाई काममा लगाएको अवस्थामा बाँकी दिनको बिदा संचित गर्न सकिनेछ । यसरी काम गरेवापत निजलाई सट्टा बिदा वा तलव भत्ता बरावरको रकम दिनुपर्ने उल्लेख छ ।


पुष्प दुलाल