तेलको मूल्य निरन्तर ओरालो लागेपछि साउदी राजाले गरे अर्थमन्त्रीलाई बर्खास्त



रियाद। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल-टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन्।

साउदी प्रेस एजेन्सीका अनुसार अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको छ ।

टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ । १० दिन अघि साउदी राजाले पर्यटन, खेलकुद र लगानीलगायत तीन नयाँ मन्त्रालयहरु थपेका थिए।

गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्वऊर्जा मन्त्री खालिद अल-फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो ।

विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकांक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न संघर्षरत छ । तर नयाँ कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ ।


पुष्प दुलाल