गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले भने- अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बोलेको अडियोमा विश्वसनीयता नहरेको बताएका छन् ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले अडियोमा विश्वस्नीयता नभएको दाबी गरे ।

यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सन्दर्भमा आफ्नो पनि नाम जोडिएको भन्दै उनले त्यसलाई पत्रु उजुरीको संज्ञा दिए ।

‘बाँस्कोटाजी प्रमाणीत भए जेल सजाय जानुहुन्छ, मुद्दा पनि चलेको छैन । मेरो पनि नाममा उजुरी हालेको छ । यही त्यसो हो भने त्यो काम नलाग्ने पत्रु उजुरी हो,’ उनले भने ।

‘अडियो रेकर्ड गरेको छु भन्दैमा हुन्न, त्यो विषयमा दुई देशका सरकारको कुरा भएको छ, स्वीससँगको सन्दर्भमा कुरा नै होइन, सबै आन्दोलन गर्ने र शत्रुता बढाउने खेल हो, सरकार भ्रष्टाचारको बाटो समाउँदैन,’ उनले भने ।

उनले सरकारको अबको कार्यभार विकास निर्माण भएको तर्क गरे । देशमा सुशासन, विकास आवश्यक रहेको भन्दै त्यसैमा सबै जुटेर लाग्ने बताए ।

उनले सरकार सुशासन र सदाचारको पक्षमा रहेको, भ्रष्टाचारीलाई कारबाही गर्ने काम जारी छ । आर्थिक अपराध होस् वा १२÷१३ वर्षअघिदेखिका वित्तीय अपराधका कामको उजागर गरिएको समेत दाबी गरे ।


पुष्प दुलाल