सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू कुखुराका चल्लाझैं दौडेका छन्: प्रधानमन्त्री



तस्बिर: आरसी लामिछाने/फेसबुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउनका लागि विपक्षीले भ्रम छरेको आरोप लगाएका छन् ।

सोमबार गण्डकी प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओली विपक्षीप्रति निकै खनिए । उनले विपक्षीलाई सरकारलाई अलोकप्रिय बनाउनका लागि कुखुराको चल्लासँग तुलना गर्दै त्यसैको पछि सबै दगुरेको बताए ।

‘एउटा कुखुराको चल्लाले फट्यांग्रो टिप्छ, के टिप्यो थाहा नै नपाई अरु चल्ला गुरर दौडिएर पछि लाग्छन्, हाम्रा विपक्षी पनि त्यस्तै छन्,’ उनले भने ।

उनले विपक्षीले केही ठाउँ नपाएपछि भ्रम सिर्जना गरेको समेत आरोप लगाए ।

‘कहिले केलाई विषय बनाउने कहिले के लाई विषय बनाउने गैर विषयलाई विषय बनाउने, नन इस्युलाई इस्यु बनाउने ? यो कि भइरहेको छ ? एउटा अस्तित्व रक्षाका लागि अर्को केही न केही त भन्नु पर्यो,’ उनले भने ।

उनले विपक्षीले संसदमा गर्नुपर्ने छलफल माइतिघरमा आएर विरोध गरेको समेत बताए ।

‘संसदमा विधेयक लग्यो, त्यहाँ छलफल गर्न ठाउँ छ नि तर पहिले माइतिघरमा आउँछन्, माइतिघर किन आउँछन् त भन्दा संसदमा छलफल गर्न पर्याप्त कुराहरु नै छैनन,’ उनले थपे ।

उनले जनतामा सरकारबारे भ्रम छर्न, सरकारलाई अलोकप्रिय बनाउन र यस्ता कुरालाई साथ दिने र सहयोग गर्ने रियाक्सनरी इलिमेन्ट्सहरु, जसले यस्ता कुराहरु बोकेको बताउँदै यस्ताका भ्रममा पर्न नहुने बताए ।

‘हामी एउटा महान उद्देश्यका साथ अगाडि बढेका छौं, र, अहिले जुन शक्ती हाम्रो बनेको छ त्यो भवितव्यमा बनेको होइन त्यसैले एकजुट हुनु आवश्य छ,’ उनले भने ।

उनले सरकारमा नहुँदा विपक्षीलाई गाह्रो भएको भन्दै मंसिरमा निर्वाचन भए पनि फागुनमा मात्रै सरकार हस्तान्तरण भएकाले पनि सरकार छाड्न कति गाह्रो हुने रहेछ भन्ने बुझिएको बताए ।

उनले आफूहरु सकारात्मक व्यवस्थामा रहेको बताउँदै दुई तिहाइ जनमतबाट प्रतिनिधित्व गरेको पार्टी बैचारिक हिसाबले माक्र्सवादी दर्शनमा आधारित, माक्र्सवादी लेनिनवादी, पुष्पलाल र मदनभण्डारीले देखाएको राजनीतिक मार्गचित्रमा आधारित, स्पष्ट सैद्दान्तिक र राजनीतिक बैचारिक बाटोमा रहेको उल्लेख गरे ।

‘यसमा कुनै अलमल छैन । त्यसकारण यो पार्टी अगाडि जान सक्छ । हामीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव छ । के गर्दा के हुन्छ भन्ने थाहा छ । सफलता र असफलता पनि छ । विश्वमा कम्युनिष्ट कहाँ किन सफल र असफल भयो भन्ने पनि थाहा छ । जसले आफ्ना बिचारहरु व्यवस्थित गर्न सके, नीतिहरु स्पष्ट गर्न सके । ती नीतिहरु सुदृढ बनाउन सके र ती औजार र कार्यक्रम बनाउन सके र त्यसको कार्यान्वयनमा दृढता देखाउन सके ती पार्टीहरु सफल भएका छन्,’ उनले भने ।


क्लिकमान्डु