मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्को साता हुने, किन भयो ढिलाइ ?



काठमाडौं । फागुनको पहिलो साताभित्र सार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अझैपछि सरेको छ ।

सामान्यतया अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गरेको साता नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने गरेको थियो ।

अघिल्लो साता बुधबार नै अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गरिसकेको छ । तर राष्ट्र बैंकले भने २ साता बितिसक्दा समेत मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्न सकेको छैन ।

राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलन आयोजना गरेको छ । सम्मेलनको तयारीले गर्दा अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक हुन ढिलो भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिमाण्डूलाई बताए ।

‘सम्मेलनको दिन नजिकै भएकाले सबैजना त्यसैको तयारीमा जुटेका छौँ’ उनले भने ‘सरोकारवालाहरुले दिएको सुझावलाई पनि समेटेर मौद्रिक नीति अर्ध वार्षिक समीक्षा गर्नुपर्ने हुदाँ अझै केही दिन ढिलो हुन्छ ।’

राष्ट्र बैंक सञ्चालक समितिले अर्धवार्षिक समीक्षाको मिति अहिलेसम्म तय नगरेकाले सम्भवत अन्तर्राष्ट्रिय सम्मेलनपछि नै मौद्रिक नीति अर्धवार्षिक समीक्षा सार्वजनिक हुने उनको भनाइ छ ।

राष्ट्र बैंक मुलुकको मौद्रिक तथा वित्तीय व्यवस्थापन गर्ने निकाय भएको हुँदा सबै क्षेत्रले यसले ल्याउने नयाँ नीति निर्देशनको प्रतिक्षा गर्ने हुँदा यस्ता कार्यक्रमहरु समयमा नै गर्नुपर्ने डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष गोविन्द ढकालको भनाइ छ ।

‘राष्ट्र बैंकले कस्तो नयाँ निर्देशन देला र सोही अनुसार व्यवसाय गर्ने भनेर बैंकिङ क्षेत्र प्रतिक्षारत छन्’ उनले क्लिमाण्डूसँग भने ‘ढिला गरिएको निर्देशन समयमा कार्यान्यवन गर्न गाह्रो हुन्छ ।’

अघिल्ला वर्षहरुको अर्धवार्षिक मौद्रिक नीति समीक्षा धेरै नीति निर्देशन परिमार्जन, संशोधन हुने भएकाले यस वर्षपनि त्यस प्रकारका संशोधित नीति निर्देशनहरु राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् समयमा नै गर्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु