युवराज खतिवडाको ठाउँमा बामदेवको चर्चा, ओलीले हटाउलान् त अर्थमन्त्री ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधिक पुनः थप हुने नहुनेमा फेरि आशंका थप भएको छ । त्यस पछाडिको प्रमुख फ्याक्टरमा हालैमात्र नेकपामा उपाध्यक्ष बनेका वामदेव गौतम रहेका छन् ।

नेकपा सचिवालय बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकका विभिन्न एजेण्डामध्ये प्रमुख एजेण्डा थियो, गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्ने । त्यो एजेण्डा मात्रै थिएन, नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पालै पालो गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शनिबार नै भेट गरेका थिए ।

अध्यक्षद्वयको मक्सद नै राष्ट्रपति भण्डारीलाई फकाएर भएपनि वामदेवलाई राष्ट्रियसभामा ल्याउने भन्ने देखिन्छ । यदि त्यसो भएको खण्डमा अर्थमन्त्री डा. युवराज खतिवडाको म्याद पुनः थप नहुने स्पष्ट देखिन्छ ।

राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यमध्ये डा खतिवडाको मात्रै म्याद सकिएको छ । उनले मनोनित गरेका अन्य सदस्यको भने राष्ट्रियसभामा म्याद सकिएको छैन । पद नै नभएपछि अर्को व्यक्तिलाई ल्याउने भन्ने हुँदैन । वामदेवलाई मनोनित गरिएको खण्डमा स्वतः डा खतिवडा अवकाशमा जानेछन् ।

संविधान अनुसार म्याद सकिएपनि ६ महिना उनी मन्त्री हुन पाउँछन् । त्यो भनेको फागुनदेखिको हिसाब गर्दा आगामी साउनसम्म उनी मन्त्री हुन भने पाउनेछन् । नेकपाको उच्च स्रोतका अनुसार डा खतिवडालाई आगामी आर्थिक वर्षको बजेट बनाउन दिने वा नदिने भन्नेमा नै छलफल जारी छ ।

यदि डा खतिवडालाई आगामी आवको बजेट बनाउन दिइएको खखण्डमा उनले आगामी जेठ १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउन पाउँछन् । यदि त्यसो नहुने हो भने तत्कालै नयाँ अर्थमन्त्री नियुक्त हुने सम्भावना पनि छ ।

नेकपाभित्र अर्थमन्त्री बन्न विभिन्न नेताहरुको दौडधुप छ । नेकपाको सरकार गठन हुने बेलामा नै हालका रक्षामन्त्री रहेका ईश्वर पोखरेलले पनि अर्थमन्त्री बन्न खोजेका थिए । यस्तै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पनि अर्थमन्त्री बन्ने चाहना राखेका थिए ।

प्रचण्ड तथा माधव नेपालहरुको पक्षमा जाँदाको अवस्थामा सुरेन्द्र पाण्डे पनि त्यसका लागि तयार नै छन् । यस्तै अन्य केही नयाँ नेतालाई पनि अर्थमन्त्रालयमा ल्याउन सकिने अवस्था छ ।

अर्थतन्त्र जानेको वा बुझेकोले भन्दा नजानेको अर्थात् राजनीतिक व्यक्तिले नै अर्थमन्त्रालय राम्रो चलाएको नेपालमा इतिहास छ । अर्थतन्त्र जानेको भनिएका वर्तमान अर्थमन्त्री डा खतिवडालाई धेरैले राम्रो मानेका छैनन् । मन परेको केटो जेठाजु पर्यो भने जस्तै उनले अर्थतन्त्रलाई नियन्त्रित गर्न खाजेको देखिएको छ ।

यद्यपि म्याद सकिन थालेपछि उनले आफूलाई १८० डिग्रीमा परिवर्तन गर्न खाजेको देखिन्छ । तर ….. गरिसक्यो दैलो देख्यो भने जस्तै समय छँदै केही नगर्ने समय घर्केपछि गर्न खोजेर त्यसको कुनै अर्थ रहँदैन ।

पछिल्ला दिनमा वामदेव फ्याक्टर सतहमा देखिएपछि त उनलाई अब भावी दिनमा मन्त्री बनिरहने अवस्था करिबकरिब सकिइसकेको नै । कुनै अकस्मात निर्णय नभएको अवस्थामा अर्थमनत्री डा. खतिवडा अब पदबाट हट्ने भएका छन् ।

नेकपाभित्र पछिल्ला दिनमा चलेको छलफलले सोही कुराको दिशानिर्देश गरेको छ । पछिल्लो पटक एक विवादास्पद घुस प्रकरणमा जोडिएपछि सञ्चारमन्त्री गोकूल बाँस्कोटाले पदबाट हात धुनु परेको छ ।

उनी हटेसँगै सञ्चार मन्त्रालय र शहरी विकास मन्त्रालय खाली छ । वामदेवलाई ल्याउने अवस्थामा एकैपटक ३ मन्त्रालयका नयाँमन्त्री आउने सम्भवना पनि देखिन्छ । यस्तो अवस्थामा अब नयाँ अर्थमन्त्री को होलान् भनेर आर्थिक बजारमा चर्चा समेत शुरु भएको छ ।


क्लिकमान्डु