कर्मचारीलाई अर्थमन्त्रीको धम्कीः मोबाइल ट्र्याकिङ हुन्छ, मिडियासँग नबोल्नु



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालय मातहतको कुनै पनि सूचना आधिकारिक व्यक्ति बाहेक अरुले दिए कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

भन्सार विभाग तथा आन्तरिक राजश्व विभाग तथा अन्य सरकारी निकायको तथ्यांक गलत रुपमा सञ्चार माध्यममा पुगेको भन्दै अर्थमन्त्रीले कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उनले कर्मचारी एवम् जिम्मेवार निकायका अधिकारीको मोबाइल समेत ट्रयाकिङ गर्ने चेतावनी दिँदै आधिकारिक व्यक्ति बाहेक अरुले बोले सेवाबाट हटाउने समेत चेतावनी दिएका छन् ।
सरकारी तथ्यांक गलत रुपमा सञ्चार माध्यममा पुगेको भन्दै अर्थमन्त्रीले त्यस्तो चेतावनी दिएको अर्थ मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

ती कर्मचारीका अनुसार अर्थमन्त्रीले फेसबुक म्यासेन्जर, ह्वाट्स एप , भाइबर तथा वीच्याट जहाँबाट सूचना दिएपनि त्यसको ट्रयाकिङ गर्ने र सूचना दिएको पाइए कारवाही गर्ने चेतावनी दिएका छन् ।

‘मिडियासँग सम्बन्ध बनाउन मन लागे जागिर छाडेर मिडियामा गए हुन्छ,सरकारी कर्मचारी भएपछि सिस्टममा बस्नुपर्छ,’अर्थमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

सरकारलाई अप्ठयारोमा पार्ने गरी सूचना दिइएको र सूचनामा एकरुपता नभएको भन्दै अर्थमन्त्रीले त्यस्तो चेतावनी दिएका हुन् ।

अर्थमन्त्री डा खतिवडाले केही दिन पहिले मन्त्रालयमा मन्त्रालयका कर्मचारी, नेपाल राष्ट्र बैंक तथा बैंकर्स संघ र वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु बोलाएर छलफल गरेका थिए । यस्तै मन्त्रालय मातहतका सबै पदाधिकारी बोलाएर छलफल गरेका थिए । सो छलफलमा समेत उनले प्रवक्ता बाहेक अरु कर्मचारीले सूचना दिए कारवाही गर्ने चेतावनी दिएका छन् ।

भन्सार विभाग, नेपाल राष्ट्र बैंक, महालेखा तथा अर्थ मन्त्रालयको तथ्यांक नै फरक फरक रहेको र सरकारले सूचना लुकाएको भन्दै विभिन्न सञ्चार माध्यममा सूचना आएपनि अर्थमन्त्रीले त्यस्तो कडा चेतावनी दिएका हुन् ।

पछिल्लो समय अर्थमन्त्रीको निर्देशनमा नै अर्थमन्त्रालय सार्वजनिक महत्वका सूचनाहरु लुकाउने गरेको छ । बजेट रकमान्तरण मनपरी गर्न थालेपछि यसको विवरण सार्वजनिक भएको छैन । राजस्वमा समेत तथ्यांक तोडमोड गर्ने काम गरिएको छ ।


क्लिकमान्डु