झुठ्ठा कागज बनाइ विद्यालयको २० लाख भ्रष्टाचार गर्ने प्रअ साहविरुद्ध ३ मुद्दा दायर



काठमाडौं । गोरखाको सिरानचोकस्थित नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

अख्तियारका अनुसार साहलगायतले विभिन्न शीर्षकमा १९ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

साहले विद्यालयको रेट्रो मेन्टिनेन्सका लागि २ लाख ५० हजार रुपैयाँ र ममर्त शीर्षकमा १ लाख रुपैयाँ आफूखसी मासेको उल्लेख छ । साथै सरकारको सम्पत्ति हिनामिना गरेको तथ्य स–प्रमाण फेला परेकाले बिगो ३ लाख ५० हजार रुपैयाँ सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

साथै साहले लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको समेत पुष्टि भएको छ । उनले झुठ्ठा भरपाइ तथा कागज पत्र तयार पारी अनुदान शीर्षकको ६ लाख ५० हजार रुपैयाँ हिनामिना पारेको पुष्टि भएको आरोप पत्रमा उल्लेख छ ।

साहले विभिन्न शीर्षकको सरकारी अनुदानको रकम ५ लाख ९५ हजार ५०० रुपैयाँ, समेत बदनियत साथ गलत कागजात तयार पारी हिनामिन गरेको आरोपपत्रमा उल्लेख छ ।

साथै प्रधानाध्यापकले शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव–इन्जिनियर विकास झाले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुठ्ठा कार्य समपन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयका लागि सरकारबाट प्राप्त अनुदान प्राप्त ममर्त शीर्षक, छात्रा शशौचालय निर्माण गरी सरकारको ३ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ ।


क्लिकमान्डु