तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतका तार भूमिगत गरिँदै



काठमाडौँ । जताततै गुजुल्टिएका तार । दुर्घटनाको जोखिम पनि उस्तै । विद्युत्, टेलिफोनका पोल, त्यसमाथि अनगिन्ती टाँगिएका तार । क्षमता कति हो, त्यसको पनि कुनै ठेगान छैन । जसले पनि पोल देख्ने वित्तिकै लगेर तार टाँग्ने प्रवृत्तिका कारण कुरुप बनेको राजधानी काठमाडौँले अब भने त्राण पाउने भएको छ ।

सरकारले पहिलो चरणका काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्र वरपरका तार भूमिगत बनाउने कार्यको थालनी गरेको छ ।

काठमाडौँको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले शुरु गरिएको सो योजना आगामी २०२१ भित्र सम्पन्न गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको ताररहित बनाउने सो योजनामा टेलिफोन, इन्टरनेट तथा केवल टेलिभिजनका तार समेत एकै पटक भूमिगत गरिनेछ ।

सोमबार नेपाल प्रहरीको तालिम केन्द्रमा आयोजित ‘काठमाडौँ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ’ प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

विकास निर्माणका काममा अन्तर मन्त्रालय तथा अन्तर सरकारी निकायबीच समन्वयको अभाव हुने गरेको गुनासोको बीच आज एउटै मञ्चमा ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, खानेपानी मन्त्री बिना मगरको समेत उपस्थिती थियो ।

सो योजना कार्यान्वयन गराउने निकाय ऊर्जा मन्त्रालय, सडक भौतिक पूर्वाधार तथा यातायात मातहत रहेको, टेलिफोन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानीको पाइपलगायतका संरचना खानेपानी मन्त्रालय मातहत रहेकाले सबै निकायलाई आयोजनाको महत्व दर्साउन एकै स्थानमा सहभागी गराइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका क्षेत्रमा कूल २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज क्षमताका अप्टिकल फाइबर जडान गरिनेछ । सो क्षेत्रमा २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत गरिनेछ ।

यसैगरी रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका क्षेत्रमा कूल ४०० किलोमिटर तार भूमिगत गरिनेछ । त्यस क्षेत्रमा ४०० केभी क्षमताको विद्युत् प्रणाली भूमिगत हुनेछ । त्यस्तै सोही क्षेत्रमा २०० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने योजनामा समावेश छ । सो कार्यका लागि झण्डै ७ अर्ब रुपैयाँ खर्च लाग्नेछ ।

प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०२१ भित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सडकको दायाँ बायाँ किनारमा गाडिएका पोलका कारण सुवारी साधन दुर्घटनामा पर्ने, आगलागी हुने तथा तारमा अल्भिने जस्ता समस्याका कारण पनि तार भूमिगत गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो ।

प्राधिकरणको योजना अनुसार पोलबाट तार तानेर गरिने विद्युत् वितरण भन्दा जमिनमुनीको वितरण भरपर्दो र प्रभावकारी एवम् सुरक्षित हुने छ ।

यस्तै विद्युत् प्रणाली थप सुरक्षित एवम् शहरी सौन्दर्यमा परेको नकारात्मक प्रभाव हटाउन समेत सहयोगी हुनेछ ।

यस्तै हावाहुरी, पानी पर्दा वा चट्याङ पर्दा विद्युत् अवरोध हुने समस्याको समेत समाधान हुने प्राधिकरणको विश्वास छ । विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति हुने गरेकोमा त्यसको नियन्त्रण समेत हुने भएकाले प्राधिकरणले तार भूमिगत गर्ने योजनालाई महत्वाकांक्षी योजनाको रुपमा लिएको कार्यकारी निर्देशक घिसिङको दावी छ ।

यस्तै थप विद्युत् माग भएको अवस्थामा समेत त्यसलाई सहजै रुपमा व्यवस्थापन गर्न विभिन्न स्थानमा प्वाइन्ट समेत राखिने भएकाले थप सजिलो हुनेछ ।

प्राधिकरणको योजना अनुसार दोस्रो चरणमा काठमाडौँको बाँकी स्थानमा विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढीकरण र स्वचालित गर्नका लागि बोलपत्र आश्वान भइसकेको छ ।

सो बोलपत्रको हाल मूल्यांकन भइरहेको छ । सो योजनामा २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेजको भूमिगत लाइन विस्तार तथा ४०० किलोमिटर अप्टिकल फाइबर भूमिगत गरिनेछ ।

यस्तै भक्तपुर तथा ललितपुर क्षेत्रमा समेत वितरण प्रणाली भूमिगत गर्नका लागि खरीद प्रक्रिया अगाडि बढाइएको छ । वितरण प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिवद्धता आएको छ ।

सरकारको योजना अनुसार काठमाडौँ उपत्यका बाहेक कास्की जिल्लाको पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महानगरपालिकाका मुख्य सडकमा समेत वितरण प्रणाली भूमिगत गर्न अध्ययन भइरहेको छ । साथै अन्य प्रमुख शहरमा समेत वितरण प्रणालीको थप सुदृढीकरण गरिने भएको छ ।

१० दिनमै सडक मर्मत गरिने
कार्यक्रममा दिइएको जानकारी अनुसार तार भूमिगत गर्दा सडकमा न्यूनतम क्षति पु¥याइनेछ । परम्परागत तरिकाले सडक नखाी सम्भव भएसम्म ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिको उपयोग गरिनेछ ।

सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी रातको समयमा काम गर्ने व्यवस्था मिलाइएको छ । सडक खन्दा निस्कने धुलो कम गर्न अधिकतम व्यवस्था गरिएको छ । भत्काइएका सडक १० दिनभित्रै मर्मत गर्ने व्यवस्था समेत मिलाइएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भूमिगत गरिने विद्युत्को तार सँगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार सेवा तथा, केबल टेलिभिजन सेवा प्रदायकहरुले समेत त्यसलाई प्रयोग गरी आफ्नो सेवा विस्तार गर्न सक्नेछन् । त्यसबाट सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणा समेत लागू गर्न थप सहज हुने विश्वास लिइएको छ ।

वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधनिकीकरण गर्ने क्रममा पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने भएको छ । सो कार्यको समेत ठेक्का लागि निर्माण व्यवसायीले काम शुरु गरिसकेको छ । प्राधिकरणले आगामी एक वर्षभित्र देशैभरका थ्री फेज ग्राहकको मिटर विस्थापन गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्य राखेको छ । सो अभियानअन्र्गत देशैभरका करिब ४८ लाख ग्राहकलाई स्मार्ट मिटर जडान गरिनेछ ।


क्लिकमान्डु