लोकमानसिंह कार्कीका सम्धी रोहीणीलाई ३५ दिनभित्र ऋण तिर्न प्रभु बैंकको अल्टिमेटम



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीका सम्धी रोहीणी थपलियालाई प्रभु बैंकले ऋण तिर्नका लागि ३५ दिने अल्टिमेटम दिँदै सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

कार्की अख्तियार प्रमुख हुँदा शक्तिको दुरुपयोग गर्दै ऋण तिर्न अटेर गरेका थपलियालाई बैंकले बुधबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै ३५ दिने अल्टिमेटम दिएको हो ।

कार्कीकी छोरी डा. आध्याश्री कार्कीको बिहे रोहीणीका छोरा सुभाशीष थपलियासँग २०७१ फागून १४ गते बिबाह भएको थियो ।

ग्राण्ड र किष्टको डुबेको २ अर्ब उठाउन ‘एग्रेसिभ’ बन्यो प्रभु बैंक, सीइओ भन्छन्- अब छाड्दैनौं

शुभ पद्म श्री इन्टरप्राइजेजले लिएको  कर्जा पटक-पटक ताकेता गर्दा पनि नतिरेपछि असूलीको प्रक्रिया अघि बढाइएको प्रभु बैंकले जनाएको छ । थपलियाबाट १७ करोड रुपैयाँ असूल गर्न बाँकी रहेको बैंकले जनाएको छ ।

थपलियाले तत्कालीन ग्राण्ड बैंक (अहिले प्रभुमा गाभिइसकेको छ) बाट ऋण लिएका थिए ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको उद्योगले गतिलो धितो नराखी बैंक व्यवस्थापनसँगको मिलेमतोमा ऋण लिएको थियो ।

थपलिया बन्दुले सिभिल बैंकको ऋण नतिरेपछि सम्पत्ति लिलामी हुँदै

सिभिल बैंकले पनि ऋण नतिरेको भन्दै २०७४ वैशाख ३ गते ३५ दिने सूचना निकालेको थियो। थपलियाले सिभिलबाट ५ करोड ऋण लिएका थिए ।

त्यसका लागि ज्ञानेश्वरको २ रोपनी जग्गा र घर धितो राखेका थिए । सिभिलमा रहेको घरजग्गालाई प्रभुले धितो कायम गर्न लगाइसकेको छ ।

त्यसैगरी, शुभ पद्म श्री इन्टरप्राइजेजले सिभिल बैंकबाट कर्जा लिदाँ पद्म थपलियाको नाममा दर्ता कायम रहेको बारा जिल्ला भवानीपूरको वडा नम्बर ४ को कित्ता नम्बर ५५७ को १ बिहागा १५ कठ्ठा जमिन धितो राखिएको थियो ।

यस्तै रोहिणी थपलियाको नाममा दर्ता कायम रहेको पर्सा मजडिया पिप्राको वडा नम्बर ३ को कित्ता नम्बर २७७ को १५ धुर जग्गा पनि धितो राखिएको थियो ।

रोहिणी थपलियाकै नाममा दर्ता कायम रहेको काठमाडौं चुनदेबीको कित्ता नम्बर ९३, ६१८, ६२० र ६२२ को जग्गा र घर पनि धितो राखिएको थियो ।

प्रभु बैंकले लामो समय प्रोत्साहन गरेर कर्जा असूल गर्ने नीति लिएको थियो । तर, पटक पटक ताकेता गर्दा पनि ऋण नतिर्नेहरुमाथि अहिले बैंक कठोर बनेको छ ।

बैंकले अब कानूनी प्रक्रियामार्फत् डुबेको ऋण उठाउने नीति लिएको छ । तत्कालीन किष्ट र ग्राण्डको गरी करीब २ अर्ब रुपैयाँ डुबेको ऋण असूल गर्न बाँकी रहेको बैंकले जनाएको छ ।


पुष्प दुलाल