सरकारले व्यवसायीसँग कमिसन माग्दैन, ढुक्कले काम गर्नुहोस्: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले उद्योगी व्यवसायीसँग कुनै पनि कमिशन नमाग्ने र भ्रष्टाचारको खेती पनि रोक्ने बताएका छन् ।

राजधानीमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान कार्यक्रममा सरकारले व्यवसायीबाट पारदर्शीता र स्वच्छता चाहेको भन्दै कानून बाहिरका कुनै पनि काम नगर्न उद्योगीलाई आग्रह गरेका छन् ।

‘तपाईहरुलाई कुनै समस्या परेको खण्डमा मलाई भन्नु म तपाईहरुको जे पनि समस्या समाधान गर्न तयार छु,’ व्यवसायीलाई सम्बोधन गर्दै उनले भने ।

प्रम ओलीले निर्यातजन्य उद्योगीलाई पनि कुनै समस्या परेको खण्डमा आफूले त्यस्तो समस्या समाधान गर्ने समेत जानकारी समेत गराए ।

‘यसअघिको अदुवाको, सुपारीको समस्या हटाएका थियौ । अहिले पाम आयलको समस्या पनि समाधान गरेका छौं, यस्ता समस्या समाधान गरिसकेका छौं, अब ढुवानीमा पनि कुनै समस्या छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अहिले सरकार र निजी क्षेत्र नै विकास चाहने भएकोले सबैलाई विकासका काममा लाग्न आग्रह गरेका छन् । अहिले सरकारले एकल सेवा केन्द्र समेत शुरु गरेको स्मरण गराउँदै देशमा लगानी वातावरण रहेको भन्दै यसका लागि सरकार र व्यवसायीबीच अझै सम्बन्ध बढाउँदै अघि बढने बताए ।

अहिले पूर्वाधार विकास, बाटोघाटोको विकास, शिक्षा, स्वास्थ्यको विकास गरी आधुनिक नेपाल बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

‘नेपालमा विकासको आधार धेरै छ, पानी, खनिज, जडिबुटी, पशुपालनका लागि उपयुक्त वातावरण रहेको, त्यही अनुसारको हावापानी, नयाँ अन्वेषणको आवश्यक रहेको छ’ प्रम ओलीले भने, ‘यी सबै क्षेत्रमा निर्यातको सम्भावना छ । पर्यटन र सेवाका क्षेत्रमा पनि महत्वपूर्ण सम्भावना छ, त्यता पनि उद्योगीहरुले ध्यान दिनुहोला । यो मेरो अनुरोध पनि छ ।’

अब उद्योगीहरुले उत्पादन बढाउने, रोजगारी बढी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने गरी कृषि र उद्योगी क्षेत्रमा लगानी बढाउन आग्रह गरे । उद्योगी व्यवसायीलाई काम गर्नका लागि कुनै ऐन कानूनको अभाव भएको खण्डमा त्यसका लागि आवश्यक मस्यौदाको ड्राफ्ट ल्याउन आग्रह गर्दै, उद्योगीलाई कुनै समस्या पर्न नदिने प्रण गरेका छन् ।

प्रम ओलीले उद्योगीलार्इी कानूनको इमान्दारपूर्वक पालना गर्दै देशप्रति उत्तरदायी बनेर व्यवसाय गर्न समेत सुझाव दिएका छन् । ओलीले सीआईपीको लोगोको सम्मान हुने गरी काम गर्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग राज्यमन्त्रीले उद्योगी व्यवसायीलाई राज्यले ज्वाँईको जस्तो व्यवहार गर्ने बताए । निजी क्षेत्र राज्यको धरोहर, राज्यको गहना भएको भन्दै राज्यले आफ्नो धरोहरलाई सदैव सम्मान गर्ने बताए ।


क्लिकमान्डु