एनसेलले १ वर्षभित्र सबै जिल्ला सदरमुकाममा फोरजी विस्तार गर्नुपर्ने



काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले १८०० ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनसेलले बोलकबोल प्रक्रियाबाट पाएको फ्रिक्वेन्सी दिने निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘फ्रिक्वेन्सी दिएसँगै एनसेलसँग प्राधिकरणले केही शर्तहरु पनि राखेको छ,’ अध्यक्ष खनालले क्लिकमाण्डूसँग भने, ‘जसअनुसार एनसेलले सन् २०२० भित्र ७७ वटै जिल्ला सदरमुकाममा फोरजी सेवा विस्तार गरिसक्नुपर्ने छ ।’

सन् २०२० भित्र सहरी क्षेत्रका ९५ प्रतिशत जनसंख्यालाई समेट्ने गरी फोरजी विस्तार गर्नुपर्ने शर्त समेत राखिएको छ । त्यसैगरी, सन् २०२२ भित्र सबै स्थानीय तह, राष्ट्रिय निकुञ्जमा फोरजी सेवा पुर्याउनु पर्नेछ ।

फोरजीको गति सहरी क्षेत्रमा न्युनतम २० एमबीपीएस र ग्रामीण भेगमा १० एमबीपीएस हुनुपर्ने शर्त छन् । एनसेलले प्रतिमेगाहर्ज ५ करोड ८० लाख तिर्ने गरी फ्रिक्वेन्सी हात पार्न सफल भएको हो ।


पुष्प दुलाल