अध्ययन लागि विदेशिने रकम ५ महिनामा साढे १२ अर्बले घट्यो, कुन वर्ष कति बाहिरियो ?



काठमाडौं । उच्च शिक्षा अध्ययनका ५ महिनामा झण्डै १५ अर्ब रुपैयाँ रुपैयाँ विदेशिएको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा विद्यार्थीहरुले उच्च शिक्षाका लागि १४ अर्ब ८० करोड रुपैयाँ विदेश लगेका हुन् ।

राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा २०७६ असार महिनादेखि मंसिर महिनामा उक्त रकम बाहिरिएको हो । तर यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो ५ महिना अर्थात् मंसिर महिनासम्म २२ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको थियो भने चालु आवको सोही अवधिमा १२ अर्ब ६२ करोड रुपैयाँले घटेको हो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले गत वर्ष अष्ट्रेलियामा केही कलेज बन्द भएको र नेपालमा पनि सरकारले ल्याएको नीतिका कारण अष्ट्रेलिया जाने विद्यार्थीको संख्यामा कमी आएको हो । जसले गर्दा अध्ययनका लागि विदेशिने रकम घटेको हो ।

अष्ट्रेलिया लामो समयदेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको गन्तव्य थियो । तर पछिल्लो समय अष्ट्रेलिया जान चाहने विद्यार्थीको भिसा रिजेक्सन बढेको तथा नेपाल सरकारले डिप्लोमा अध्ययन गर्नका लागि कडाइ गरेसँगै अष्ट्रेलिया जाने विद्यार्थीको संख्यामा कमी आएको थियो ।

अध्यक्ष पाण्डेका अनुसार गत वर्ष अष्ट्रेलियामा विभिन्न कलेजहरु बन्द हुँदा नकारात्मक सन्देश गयो भने त्यहाँका कलेजले नेपाल आएर प्रचारप्रसारमा पनि कम गरे जसका कारण अष्ट्रेलिया जाने विद्यार्थीको संख्यामा कमी आयो ।

त्यस्तै, नेपालभित्रै पनि विभिन्न अवसरहरु सिर्जना हुनु र विदेशको हकमा युके जस्ता नयाँ गन्तव्यमा विद्यार्थीको आकर्षण बढ्दा अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्यामा कमी आएको हो ।

‘अष्ट्रेलिया र जापान नेपाली विद्यार्थीका लागि अझै पनि पहिलो रोजाइका गन्तव्य हुन्, तर गत वर्ष नेपाल सरकारको नो अब्जेक्सन लेटर नदिने नीति र अष्ट्रेलियामा केही कलेजमा समस्या देखिँदा विद्यार्थी घटेका थिए, तर पछिल्लो तथ्यांक हेर्दा भिसा सक्सेस रेट निकै राम्रो छ,’ अध्यक्ष पाण्डेले भने ।

उनका अनुसार पछिल्लो समय अष्ट्रेलिया मात्रै होइन यूकेमा पनि विद्यार्थीको आकर्षण बढेको छ ।

तथ्यांक हेर्दा २०१७ को जुलाईदेखि सन् २०१८ को जुनसम्ममा अष्ट्रेलियामा बाहिरबाट अप्लाइ गर्नेहरुको भिसा सक्सेस रेट ८२.६ प्रतिशत थियो । यस अवधिमा हाइयर एजुकेशनमा ९२.३ प्रतिशत र भोकेसनल एजुकेशनमा ६९ प्रतिशत भिसा सक्सेस रेट थियो ।

त्यस्तै, २०१८ जुलाईदेखि सन् २०१९ को जुन महिनासम्म समग्रमा भिसा सक्सेस रेट ७०.४ प्रतिशत थियो । जसमध्ये हाइयर एजुकेशनमा ८८.६ प्रतिशत र भोकेसनल एजुकेशनमा ५२.४ प्रतिशत थियो ।

भने सन् २०१९ जुलाईदेखि सन् २०१९ डिसेम्बर महिनासम्म भिसा सक्सेस रेट ६८.५ प्रतिशत थियो । जसमध्ये हाइयर एजुकेशनमा ७५.२ प्रतिशत थियो भने भोकेसन एजुकेशनमा ३१.३ प्रतिशत थियो ।

त्यस्तै, अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीको तथ्यांक हेर्दा गत डिसेम्बर महिनामा मात्रै ९५ प्रतिशत भिसा सक्सेस रेट थियो । जसमध्ये हाइयर एजुकेशनमा ९१.५ प्रतिशत र भोकेशनल एजुकेशनमा ६६.७ प्रतिशत थियो ।

त्यस्तै, सरकारले गत जेठ महिनामा भोकेसनल कोर्स पढ्नका लागि विद्यार्थी विदेश जान नपाउने निर्णय गरेको थियो । जसको असर अष्ट्रेलिया र जापान जाने विद्यार्थीहरुलाई परेको थियो । सरकारले तत्कालिन समयमा कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने निर्णय गरेको थियो ।

सरकारले माध्यमिक शिक्षालाई कक्षा १२ सम्म बनाएपछि डिप्लोमा अध्ययनका लागि माध्यमिक तह पूरा गरेपछि मात्रै अनुमति दिने निर्णय गरेको थियो ।

त्यसपछि अष्ट्रेलिया र जापान जाने विद्यार्थीको संख्यामा कमी आएको थियो ।

शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २५९ जनाले उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जानका लागि नो अब्जेक्सन लेटर लिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष २०७४/७५ मा ५८ हजार ७५८ जना, २०७२/७३ मा ३२ हजार ४८९ जनाले नो अब्जेक्सन लेटर लिएका थिए ।

त्यस्तै, २०७५ साल साउन १ गतेदेखि २०७६ साल पुस २४ गतेसम्म अष्ट्रेलिया जानका लागि मात्रै ४३ हजार ४९४ जना र जापान जानका लागि १२ हजार २७८ र अमेरिका जानका लागि २ हजार ५८ जनाले नो अब्जेक्सन लेटर लिएका थिए ।

यद्यपि नो अब्जेसक्न लेटर लिने सबै विद्यार्थीहरु विदेश जान्छन भन्ने हुँदैन । नो अब्जेक्सन लेटर पाएर कलेजमा शुल्क बुझाइसकेपछि पनि भिसा नलाग्न पनि सक्छ ।

कुन वर्ष कति अर्ब बाहिरियो ?
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा अध्ययनका लागि १८ अर्ब १० करोड रुपैयाँ विदेशिएको थियो । त्यस्तै, २०७२/७३ मा २० अर्ब १० करोड रुपैयाँ, २०७३/७४ मा ३५ अर्ब रुपैयाँ, २०७४/७५ मा ३८ अर्ब १० करोड रुपैयाँ, २०७५/७६ मा ४६ अर्ब ३० करोड रुपैयाँ विदेश गएको थियो ।

 


क्लिकमान्डु