लुम्बिनी विकास बैंकको नाफा २५ करोड २१ लाख रुपैयाँ



काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले आवको दोस्रोे त्रैमासमा २५ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ०.७ प्रतिशतले बढी हो । गत वर्ष बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १७ करोड ३२ लाख २५ हजार रुपैयाँ छ ।

बैंकले सो अवधिमा २३ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १० करोड २९ लाखा रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने १६.५८ प्रतिशतले वृद्धि देखिएको छ ।

गत वर्षको पुस मसान्तसम्म बैंकले ५० करोड १६ लाख ८१ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ८ करोड ३२ लाख १७ हजार रुपैयाँ ब्याज आम्दानी बढेर ५८ करोड ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको संचालन मुनाफामा पनि ४.२९ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको ६ महिनामा ३४ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा बैंकले चालु आवको सोही अवधिमा ३६ करोड १६ लाख ९३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको हो ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा, कष्ट अफ फण्ड ८.६१ प्रतिशत, वेसरेट ११.१० प्रतिशत छ ।


क्लिकमान्डु