एनसीसी बैंकको नाफा थोरै बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७५ करोड ६३ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ७३ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ५२ करोड ५२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
बैंकको यो अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ५४ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ६६ करोड ५४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको गत आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा १ अर्ब ३ करोड १२ लाख १७ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ५ करोड ९३ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख २० हजार रुपैयाँ रहेको छ । ६३ अर्ब ६१ करोड ७३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६४ अर्ब ८९ करोड ५८ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर २.८२ प्रतिशत रहेको छ । १८ रुपैयाँ ६० पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ ।