बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स पाउँछन्: संचारमन्त्री बास्कोटा



काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीलाई २० अर्ब रुपैयाँ तिरेर जिएसएम मोबाइलको लाइसेन्स लिन अनुरोध गरेका छन् ।

मन्त्रीपरिषद्को निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीले सोधेको प्रश्नमा बास्कोटाले नियम अनुसार २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताए ।

‘अरु कम्पनीले २० अर्ब रुपैयाँ तिरेर गरेको व्यवसाय २५ लाख रुपैयाँ तिरेर मात्र गर्न पाइदैन, नियम अनुसार काम गरे लाइसेन्स पाइन्छ,’ बास्कोटाले पत्रकार सम्मेलनमा भने ।

बास्कोटाले सरकारले सिजीलाई ग्रामिण क्षेत्रमा टेलिकम चलाउन १०/११ करोड रुपैयाँ दिएको भन्दै २५ लाखमा युनिफाइड टेलिकमको लाइसेन्स नपाउने बताए ।

कांग्रेसको सांसद् तथा अर्बपति व्यापारी हुँदैमा प्रक्रिया नपुर्याएर लाइसेन्स दिनुपर्ने आधार नभएको उनको भनाई छ ।  मन्त्री बास्कोटाले चौधरीले निशुल्क टेलिकम सेवा दिन्छु भनेको विषयमा कति समयलाई दिने हो र आजीवन निशुल्क दिने हो भने स्वागत गर्ने बताए ।

‘कर र रोयल्टी नतिर्ने अनि लाइसेन्स पाएन भनेर हुन्छ,ठूलो घरानाको भन्दैमा प्रक्रिया मिचेर लाइसेन्स दिने कुरा हुँदैन,’ उनले भने ।


क्लिकमान्डु