टेलिकमका कर्मचारीविरुद्ध खनिए मन्त्री बास्कोटाः आमाको जन्मदिनमा शोकधुन बजाउने… ?



काठमाडौं । बुधबार नेपाल टेलिकमको १६औं वार्षिक उत्सव थियो । उत्सव ठीक ११ बजे शुरु हुने भन्दै सबैलाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रममा टेलिकमका कर्मचारी, आमन्त्रित सबैजना निर्धारित समय आसपासमै आइपुगेका थिए । कार्यक्रममा मुख्य अतिथी सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्धारित समयभन्दा १ घन्टा ९ मिनेट ढिला आइपुगे ।

मन्त्री कार्यक्रम स्थलमा आएपछि स्टेजमा चढेर चारैतिर हेरे । जहाँ मन्त्रीले तीन वटै दिशामा आँखा दौडाए । जहाँ कर्मचारीहरु विभिन्न नारा लेखिएका कागजको टोपी लगाएका थिए । तिनै कर्मचारीले हातमा प्लेकार्ड पनि बोकेका थिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राखे लगत्तै मन्त्री बास्कोटा भाषणका लागि उठे । भाषणको शुरुमै टेलिकम १६ वर्ष पूरा गरेको हो कि १६ वर्ष लागेको हो भनेपछि सभाभरी हाँसो फैलियो ।

केही बेर हस्यौली र ठट्यौली कुरा गरेपछि उनी आक्रमक भए । कर्मचारीलाई निकै गाली गरे । गाली भाषणको अन्तिमसम्मै गरेर कार्यक्रमबाट बाहिरिए । मन्त्री बास्कोटाले विरोधमा रहेका कर्मचारीलाई गाली गर्न निकै समय खर्र्चिए ।

उनले कर्मचारीहरुलाई आमाको जन्मदिनमा मंगल धुन बजाउनु पर्नेमा शोक धुन बजाएको भन्दै तिखो आलोचना गरे ।

बास्कोटाले विरोधमा उत्रेका कर्मचारीलाई पञ्चायतको टालो जस्तो पहेँलो के टालो टाउकोमा बाँधेर बसेको भन्दै नराम्ररी झपारे । लोक सेवामा सरकारले केही गर्न नसक्ने भन्दै त्यसका लागि जे गर्ने हो लोकसेवाले नै गर्ने स्पष्ट पारे ।

विरोध गरिरहेका कर्मचारीलाई सोधे ‘आजको दिन पनि खुसी हुन नसक्ने किन हो ?’

उनले लोकसेवाले जहिले पठाउँछ त्यही दिन सकिहाल्छ नि, विरोध राजनीति सिवाय केही नभएको टिप्पणी गरे । संस्थाको हितका लागि कुनै–कुनै समयमा आलोचना गर्न सकिने भए पनि यो खालको विरोधको आवश्यक नभएको मन्त्रीले जिकिर गरे ।

चुनावमा भोट हाल्नका लागि मात्रै होइन बाँकी जीवन पनि छ भन्ने पनि बुझनु होला ।

‘तपाईहरुले राजनीतिका लागि मात्रै गर्ने राजनीतिलाई म पराजित गरेरै छोडछु, त्यो पनि दृढतापूर्वक यो खालको विरोधलाई म पराजित गरेरै छोडछु,’ उनले कर्मचारीलाई भने ।

कर्मचारीलाई व्यंग गर्दै केही प्रश्न तेर्साए, देशभरी फोर जी पुगेकाले दुखी हुनु भएको हो ? उनले कम्पनीप्रति इमान्दार हुनेको मात्रै कुरा सुनिने बताए ।

‘साथीहरुको यो हिसाबकिताब पनि राम्रोसँग राखिने छ । गत वर्ष नै मैले भनेको थिए मैले अर्को वर्ष नाँचौला गाँऔला, केही त परिवर्तन गरौं । तर परिवर्तन भएको दिन साथीहरु नाँचन गाउँन छोडेर एकोहोरो शंखधुन बजाएर हिँडने हो भने बेलुका भोजमा आउँनुहुन्न कि आउनु हुन्छ कि आउनुहुन्न यी अनुहार म हेर्छु,’ उनले भने ।

मन्त्रीको उक्त भनाइ सकिन नपाउँदै विरोधस्वरुप लाइनमा बसेका कर्मचारीले मन्त्रीलाई जवाफ फर्काए, ‘हामी त आउँदैनौ ।’

उनीहरुको जवाफ आएको केही समय घोरिएका मन्त्रीले फेरि कर्मचारीलाई जवाफ दिए ‘मलाई चुनौती नदिनु होला । चुनौती सहँन्न आवश्यक कुरा यही हुन्छ, राजनीति गर्ने हो भने पार्टी कार्यालयमा जानु होला यहाँ होइन ।’

उनले अर्काको बाटो अवरोध गरेर आफु अग्लो छु भन्ने तर्फ नलाग्न कर्मचारीलाई आग्रह गरे ।

आफू प्राविधिक विषयमा जानकार नभए पनि राजनीति गर्न खोज्नेसँग आफू लड्न तयार रहेको बताए । उनले टेलिकम जनताको भएकाले गोरखकाली रबर के भएको थियो, टिम्बर कर्पोरेशनमा के भएको थियो त्यो हेरेर काम गर्न आग्रह गर्र्दै हुँदा न खाँदाको कुरामा विरोध नगर्न आग्रह गरे ।

उनले कर्मचारीलाई देशैभरी फोर जी जाँदा चित्त दुखेको हो की भन्ने प्रश्न गर्दै भने, ‘२÷४ जनाको विरोधले सरकार डराउँदैन । गाइजात्रा देखाउन मन भए देखाउनु, यो सरकार गाइजात्रा हेरेर बस्छ, आमाको जन्मदिनमा पनि हाँस्न नसकेर शोकधुन बजाउन थाल्नु भयो, यो त सारै बिचित्र भयो ।’

उनले कर्मचारी टेलिकमको कम्पनीको हितका काम गर्नुको सट्टा ब्याट्री चोर्नेहरु पनि देखिएको भन्दै त्यस्ता कर्मचारीलाई सरकारले कुनै हालतमा सहयोग गर्न नसक्ने तर्क गरे । कम्पनीको हितमा काम नगर्ने कर्मचारी अनसन बसे केही फरक नपर्ने बताए ।

अहिले सरकारले टेलिकमलाई कान्छो छोरो, कान्छी बुहारी जस्तो व्यवहार गरेको स्मरण गराउँदै टेलिकमले यो बेला पनि प्रगति गर्न नसकेको खण्डमा आफ्नो मलामी आफै जानुको विकल्प नभएको उनले तर्क गरे ।

कार्यक्रममा उनले आगामी वर्षमा टेलिकमले गुणस्तर सुधार पनि आवश्यक रहेको बताए । सेवा विस्तारको नाममा भूभाग ओगटेर बस्नुभन्दा पनि गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए ।

आफूले गत वर्ष आगामी वर्ष देशैभरी फोर जी सेवा पुर्याउन सकिन्छ भन्दा मन्त्रीको दम्भको रुपमा चित्रित गरियो भन्दै अहिले त्यो पूरा भएको बताए । उनले आफूले गरेको संकल्प करिब पूरा भएको बताए ।


क्लिकमान्डु