कोरोना भाइरसको संक्रमणपछि नेपालीसहित ४ दर्जन विदेशी एयरलाइन्सले गरे चीन उडान रद्द



काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँका विभिन्न गन्तव्यमा उडान गर्ने नेपाली सहित विभिन्न विदेशी एयरलाइन्स कम्पनीहरुले उडान रद्द तथा उडान संख्या घटाउन थालेका छन् ।

चीनको युहान प्रान्तमा २ सातादेखि कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली एयरलाइन्स कम्पनी हिमालयले उडान संख्यामा कटौती गरेको थियो । हिमालयले फेब्रुअरी १ देखि लागू हुने गरी उडान भइरहेका ५ वटा गन्तव्यमध्ये ३ वटामा उडान संख्या कटौती गरेको थियो ।

त्यस्तै विदेशी एयरलायन्स कम्पनीले समेत अहिले चीनका विभिन्न गन्तव्यमा हुने उडान रद्द तथा केही उडान संख्या कटौती गरेका हुन् ।

चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा समेत कमी आएको छ । भिजिट नेपाल २०२० को पहिलो महिनामै गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले चिनियाँ पर्यटक घटेका छन् ।

सन् २०१९ को जनवरी महिनामा १३ हजार ६८८ चिनियाँ पर्यटन नेपाल आएकोमा यो वर्ष उक्त संख्या जम्मा १२ हजार २०० मा सीमित भएको छ । यसरी हेर्दा गत वर्षको जनवरीको तुलनामा १ हजार ४ सय जना चिनियाँ पर्यटक नेपाल कम आएका हुन् ।

२० लाख पर्यटक ल्याउने लक्ष्य सहित शुरु गरिएको भिजिट नेपाल २०२० मा चिनियाँ पर्यटकको घट्दो संख्यासँगै उक्त लक्ष्य पूरा गर्ने नहुने देखिएको छ ।

सन् २०१९ को तुलनामा २० लाख पर्यटक ल्याउनका लागि करिब ६७ प्रतिशत वृद्धिदर आवश्यक छ । तर विगत ५ वर्षयता नेपाल आउने पर्यटकको संख्यात्मक वृद्धिदर कमजोर हुँदै गएको छ । सन् २०१८ का तुलनामा सन् २०१९ मा पर्यटक वृद्धिदर २.१ प्रतिशत मात्रै छ ।

विदेशी विमान कम्पनीले पनि गरे रद्द
चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएका विदेशी विमान कम्पनीमध्ये केहीले उडान रद्द गरेका छन् भन केहीले उडान संख्यामा कटौती गरेका छन् ।

जसमध्ये अमेरिकन एयरलाइन्स कम्पनीले लस एन्जल्सबाट चीनमा मेनल्याण्डमा उडान हुने विमानहरुलाई फेब्रुअरी ९ देखि २७ मार्चसम्मका लागि स्थगीत गरेका छन् ।

तर बेइजिङ र साङघाइमा उडान हुने डलास फोर्ट वोर्थ र लस एन्जल्सदेखि हङकङमा हुने उडानलाई भने जारी राखेको छ ।

डेल्टा एयरलाइन्स कम्पनीले चीन यात्रा गर्ने यात्रुका लागि महंगो दरमा उडान गर्दै आएको छ ।

त्यस्तै, क्याथे प्यासिफिक र एयर क्यानडाले पनि चीनमा हुने उडानलाई केही समयका लागि स्थगीत गरेका छन् ।

साथै ब्रिटिस एयरवेज र लुप्थान्सा एयरलाइन्सले पनि चीनमा हुने सिधा उडान स्थगीत गरेका छन् ।

त्यस्तै, केही पानीजहाजले समेत चीनसम्मको यात्रा रद्द गरेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई चीन जान समेत ट्राभल ब्यान गरिसकेको छ । यसले चीन र अमेरिकाबीच हुने व्यापारमा समेत असर पुगेको छ ।

यूरोपियन एयरलाइन्ससँगै केही एसियन एयरलाइन्स कम्पनीले समेत विमान उडानमा कटौती र रद्द गरेका छन् । उनीहरुले आगामी मार्च महिनासम्मका लागि उडान स्थगीत गरेका हुन् ।

यी एयरलाइन्सले गरे उडान रद्द
हालसम्म नेपाली एयरलाइन्स हिमालयनसँगै विदेशी एयरलाइन्सहरु एयर अस्ताना बोइङ ७६७ एयरक्राफ्ट, एयर फ्रान्स, एयर इन्डिया, एयर केबीजेड, एयर मकाओ, एयर मोरिसस, एयर सिओल, एयर तान्जानिया, अमेरिकन एयरलाइन्स, एसियन एयरलाइन्स, अष्ट्रेलियन एयरलाइन्स, ब्रिटिस एयरवेज, क्याथवे प्यासिफिक, केबु प्यासिफिक एयर, ताइवानको चाइना एयरलाइन्स, डेल्टा एयरलाइन्स, इजिप्ट एयर, इजरायल एयरलाइन्स, इस्टर जेट, इभीए एयर, फिन एयर, हङकङ, इबेरिया, इन्डिगो, जेटस्टार एसिया, केएलएम, रोयल डच एयरलाइन्स, कोरियन, लायन एयरलाइन्स, लुप्थान्सा, म्यानमार एयरलाइन्स, म्यानमार नेशनल एयरलाइन्स, फिलिपाइन एयरलाइन्स, स्क्यानडेभियन एयरलाइन्स, एससीएटी एयरलाइन्स, सिंगापुर, स्काइअप, टर्किस, स्वीस एयरलाइन्स, युक्रेन, युनाइटेड एयरलाइन्स, उरल एयरलाइन्स, भर्जिन एटलान्टिक एयरलाइन्सले चीनमा हुने उडान रद्द तथा स्थगित गरेका छन् ।


क्लिकमान्डु