क्यान इन्फोटेकको तयारी पूरा, पेपरलेस टिकटको शुरुवात गरिने



काठमाडौं । यसवर्षको क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको आयोजक कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)ले जनाएको छ ।

फागुन २ देखि ७ गतेसम्म चल्ने क्यान इन्फोटेक मेलामा टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् । भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीको ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

मेलामा प्रविधिका क्षेत्रमा भएका नयाँ आइडियाको प्रवद्र्धनका साथै इन्नोभेशन एक्स्पोजर लाई आयोजक क्यानले बिशेष प्राथमिकतामा राखेको छ ।

सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीको क्षमता विकास, उनीहरुको आइडियालाई प्लेटफर्म प्रदान, इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु मेलाको उद्देश्य रहेको महासचिव कुँवरले जानकारी दिए ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ ।

जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको अध्यक्ष कुँवरले बताए ।

मेलाको उद्घाटन रोबोट र ड्रोनबाट गरिने छ । यसपटकको इन्फोटेक मेलामा विशेष आकर्षणको रुपमा गेमिङ जोन रहने कुँवरले बताए ।

उनका अनुसार गेमिङ पार्टनर एसोसिएसनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने छ । जसमा डाटा टु तथा सीएस गो जस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलाइने छन् ।

दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छ । भने उत्कृष्ट ८ टिमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाउनेछन् ।

मेलामा इनोभेशन एक्स्पोजर विशेषताका रुपमा रहने छ । जसअन्तर्गत स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया प्रदर्शनी गर्नेछन् ।

क्यान महासंघले यसका निम्ति सार्वजनिक सूचना निकालेरै स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको छ ।

सहभागीलाई क्यान इन्फोटेकमा बिभिन्न सुबिधाहरु र उत्कृष्टलाई राष्ट्रिय सूचना प्रविधि दिवसको अवसर पारेर पुरस्कृत गर्ने घोषणा यस अघि नै गरिसकिएको छ ।

मेलामा प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीले ५० प्रतिशत छुट पाउनेछन् । साथै सामूदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थी, सञ्चारकर्मी, जेष्ठ नागरिक, अपांगहरुलाई प्रवेश निशुल्क छ । यसैगरी फागुन ५ गतेलाई ‘बिजनेस डे’ तोकिएको छ ।


क्लिकमान्डु