नेपाल बैंकको नाफा साढे १८ प्रतिशतले घट्यो, अधिकांश सूचक नकरात्मक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा साढे १८ प्रतिशतले घटेको छ भने अधिकांश सूचकहरु नकरात्मक छन् ।

बैंकले मंगलबार प्रकाशति गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ । जबकी गत आर्थिक वर्षको पुस मसान्तमा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

खासगरी बैंकको खुद ब्याज आम्दानी घटेपछि बैंकको नाफा ३१ करोड रुपैयाँले घटेको हो ।

बैंकद्धारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा पनि २४.९८ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ५७ करोड ७८ लाख रुपैयाँले घटाएर १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँमा सीमित गरेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकले निक्षेप संकलन ३३.९० प्रतिशतले घटाउँदा कर्जा लगानी तर्फ भने ६.५३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब १७ अर्ब २२ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरि ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको निक्षेप संकलन घटेसँगै ब्याज आम्दानी पनि १३.३२ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४२ करोड २१ लाख रुपैयाँले घटेर २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । बैंकको वितरण योग्य नाफा भने ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.६६ प्रतिशत, कष्ट अफ फण्ड ५.१९ प्रतिशत, प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ ।

पुस मसान्तसम्म बैंकको आधार दर ७.८२ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा बैंकले स्प्रेड दर घटाएको छ भने बेस रेट बढाएको छ ।

बैंकले सम्पत्ति शुद्धिकरण लगायत जोखिम व्यवस्थापनमा काम गरेको र सूचना प्रविधिमा खर्च बढाएको जनाएको छ । जसको असर पनि नाफामा देखिएको हो ।


क्लिकमान्डु