४५ वर्षको कमाइ ४५ दिनमा गुमाएँ: सेयर बजारका बादशाह निर्मल प्रधानको उतारचढाव अनुभव

क्लिकमान्डु २०७६ माघ १३ गते १८:३५ मा प्रकाशित

काठमाडौं । म चलचित्र क्षेत्रबाट आएको मान्छे सेयर बजारबारे केही पनि जानकारी थिएन । यसबारेमा केही पनि थाहा नभइ प्रवेश गरेको मान्छे पछि यस क्षेत्रमा शेर भएर निस्किएँ ।

कुनै समय यस्तो अवस्था थियो, मैले सेयर बढ्छ वा घट्छ भनेकै भरमा सेयर बजार तलमाथि हुन्थ्यो । म सेयर बजारको तगडा खेलाडी थिएँ ।

धितोपत्र बोर्डका निरज गिरीले मलाई निर्मल दाई अमेरिका जाँदा सेयर बजार घट्छ, उताबाट प्लेन चढ्ने वित्तिकै सेयर बजार उकालो लाग्छ भन्नुहुन्थ्यो । र, त्यस्तै हुन्थ्यो पनि ।
नेपालको सेयर बजारका लागि ६ वर्ष र ७ वर्षको बीचमा परिवर्तन भइरहेको छ । बियरिस ट्रेन्ड ४०÷४२ महिनासम्म रह्यो । तर अब बुलिस ट्रेन्ड शुरु भइसकेको छ । माघ महिनासम्ममा सेयर बजार बुल हुन्छ । करेक्सन हुँदै अगाडि बढ्दै जान्छ ।

लगानीकर्ताको हिसाबले यो लगानी गर्ने उत्तम समय हो । म त के भन्छु भने यो समय घर बेचेर भए पनि सेयरमा लगानी गर्दा हुन्छ ।

सेयर बजारमा बुलिसको ट्रेन्ड कस्तो हुन्छ भने अबको ४० महिनासम्ममा सेयर बजारको ग्राफ उकालो लाग्दै जान्छ । यदि तपाई लङटर्म लगानीकर्ता हो भने राम्रो बैंक छानेर सेयर खरिद गर्दा उत्तम हुन्छ । अहिले लगानी गरेर साढे २ वर्षपछि बेच्छु भन्नु भयो भने त्यसको चार गुणासम्म फाइदा पाउनु हुन्छ ।

अहिले सेयर बजार बढ्दै गएर १३ सयभन्दा बढी भइसकेको छ । अब यो केही दिनमा घटेर १२८० सम्म आइपुग्छ र फेरि १०० अंकले इन्डेक्स बढ्छ । र, १४०० सम्म पुग्छ । आज खरिद गरेको लगानी १३८० हुँदा बिक्री गर्ने, १४५० सम्म पुग्छ भन्ने लाग्छ भने १४३० मै बिक्री गरिदिने हो ।

सेयर बजार करेक्सन हुँदै अगाडि बढ्दै जान्छ र कम्तीमा १८८१ चै पक्कै कट्छ । त्यसपछि त्यसको दोब्बर ३६०० सम्म पनि पुग्न सक्छ वा तीन गुणा भएर ५४ सयसम्म पुग्न सक्छ । यसको के थ्योरी हुने रहेछ भने बियरिस ट्रेन्डको पाँच गुणा र वुलिस ट्रेन्डको तीन गुणासम्म बढ्न भनिन्छ ।

लगानीकर्ताले धेरै लोभ गर्न हुँदैन । अलिकति नाफा आइहाल्यो भने सुरक्षित हुनका लागि बिक्री गर्नुपर्छ । अहिलेको २ सयमा किनेको सेयर ६ सयमा त बिक्री गर्नु पर्यो नि १ हजार पुग्छ भनेर कुरेर बस्ने होइन । यो वुलिस ट्रेन्डमा म पनि लगानी गर्दैछु । केही महिनामै करोडौं रकम लगानी गर्ने योजना बनाएको छु ।

यसरी आएँ सेयर बजारमा

हाम्रो परिवार तनहुँको बन्दिपुरको खानदानी खलक । त्यो समयमा हामी बन्दिपुरमा सबैभन्दा धनी थियौ । हामीले काठमाडौं आउनुभन्दा अघि तनहुँ, चितवन, हेटौडाँलगायतका ठाउँमा चलचित्र हल बनाएका थियौं । काठमाडौं पनि चलचित्रकै लागि आएको थिए । काठमाडौंको स्वयम्भूमा, ठमेलमा, हात्तिसारमा चलचित्र हल थिए ।

चलचित्रको कमाइ राम्रो थियो । जे जति कमाएको थिए । चलचित्रबाटै कमाएको थिएँ । नेपालमा हिन्दी चलचित्र ल्याउने, सोही दिन नेपालमा रिलिज गर्ने काम मैले नै गरेको हो ।

त्यसताका म ज्ञानेश्वर बस्थे, त्यहाँबाट भोटेबाहाल जानका लागि कमलपोखरी हुँदै जानु पर्ने, त्यो बेलामा कमलपोखरीमा एनआईडीसी क्यापिटल मार्केटमा तुल झुण्डाएर मानिसहरु लाइन लाएर एनआईसी एसिया बैंकको आईपीओको फारम भरिरहेका थिए ।

मलाई पनि कसैले यसबारेमा जानकारी दियो ।

त्यही बेलामा पहिलो पटक मेरो नाममा, श्रीमति, ५ जना छोराछोरी र २ जना सासु ससुरा गरी ९ जनाका नाममा एक÷एक लाख रुपैयाँ गरी ९ लाख रुपैयाँको आईपीओका लागि फारम भरे ।

जसमध्ये श्रीमति रुकमिणी प्रधान र माइलो छोरा निकेश प्रधानका नाममा २५० कित्ताका दरले ५०० कित्ता पर्यो । जब सेकेन्डरी मार्केटमा लिस्टिङ भयो । ४०० रुपैयाँ पुग्यो । १ सय रुपैयाँमा हालेको सेयर ४ सय रुपैयाँ पुग्दा म दंग परे ।

त्यसभन्दा अगाडिसम्म मलाई कसरी किन्ने र कसरी बेच्ने भन्ने थाहा पनि थिएन । म पाको न्यूरोडमा विजय खेम्खाको २६ नम्बरको ब्रोकर एसियन सेक्युरिटिज लिमिटेड थियो । त्यहाँ गएँ । उहाँलाई भेटेपछि उहाँले मलाई कारोबार गर्न सिकाउनु भयो र कारोबार शुरु गरे । सबैभन्दा शुरुमा एनआईसीकै सेयर ४ सय रुपैयाँमा किने ।

पछि मलाई यसमा लत बस्दै गयो । म आक्रामक ढंगले जान खोजे । तर विजय जीले सो अनुसारले जान चासो देखाउनु भएन । त्यसपछि म भूगोल पार्कमा रहेको २८ नम्बरको ब्रोकर श्री कृष्ण सेक्युरिटिजमा पुगे । त्यहाँ नन्दकिशोर मुन्दडाजीलाई भेटे । उहाँसँग पनि सेयरबारे जानकारी लिएँ । तै पनि सन्तुष्ट भइन । र, ब्रोकर फेरि परिर्वतन गरी २० नम्बरको ब्रोकर श्री प्लस सेक्युरिटिजबाट कारोबार गर्न थाले ।
म सेयर बजारमा प्रवेश गर्दा बैंक अफ काठमाण्डूको सेयर १५०० थियो, एभरेष्टको ९०० रुपैयाँ थियो । सबैभन्दा महंगो ३३०० को हाराहारीमा स्ट्यान्डर्डको थियो । त्यो बेलामा मैले ४ करोड रुपैयाँसम्मको सेयर खरिद गरे । ४५ वर्षसम्म कमाएको पैसा सेयर बजारमा लगानी गर्न शुरु गरेको थिएँ ।

त्यतिबेला मैले बिओकेको सेयर १० हजार कित्ता सेयर प्रतिकित्ता १५ सयका दरले खरिद गरेँ । त्यो सेयर बढेर साढे १७ सय रुपैयाँसम्म पुग्यो । तर शुरुमा नयाँ भएकाले बिक्री गर्न जानिन ।
तर त्यो पैसा घटेर १ हजारमा झर्यो । १५ सयमा किनेको सेयर १ हजारमा किन बेच्नु भनेर नबेची राखेँ । पछि त्यो साढे २ सयमा झरेका बेलामा बिक्री गर्न बाध्य भएँ । त्यो बेलामा मलाई ३ करोड रुपैयाँभन्दा बढी घाटा लाग्यो । त्यसपछि आजका दिनसम्म मैले बैंक अफ काठमाण्डूको सेयर किनेको छैन ।

त्यो बेलामा मनमा निकै नैराश्यता छायो । बेकारमा किन सेयर बजारमा हात हाले हुँला भन्ने लाग्यो । ४५ वर्षको उमेरसम्म कमाएको पैसा ४५ दिनमा गुमाएँ । तर हरेश खाइन । र, यसैमा लाग्ने निधो गरे ।

एउटा चलचित्रको डाइलग छ नि, हिरा हिराले नै काट्छ, फलामलाई फलामले नै काट्छ । मलाई थाहा थियो, चलचित्र क्षेत्रबाट कमाएको पैसा सेयर बजारमा डुबिसक्यो । सेयरमा डुबेको पैसा चलचित्र क्षेत्रबाट कमाउन सकिदैन भन्ने थाहा थियो । र, यो पनि थाहा थियो कि जुन व्यापारबाट जसरी जान्छ त्यसै गरी आउँछ पनि ।

त्यसपछि म सेयर बजारको विज्ञ खोज्दै हिँडे । त्यसैबेलामा जीवन बस्नेत सरलाई भेँटे । बस्नेत सरलाई गुरु मानेर अघि बढेँ । उहाँलाई म कुन बैंकमा सेयर हाल्ने भनेर सोधेको एक सातापछि आउँनु म बजारको प्राविधिक विश्लेषण गरेर बताउँछु भन्नु भयो ।

एक सातापछि उहाँकोमा गएँ । उहाँले मलाई एभरेष्ट बैंकको सेयर किन्न भन्नु भयो । त्यसबेलामा एभरेष्ट बैंकको चुक्ता पुँजी २० करोड चानचुनको थियो । तर सेयर किन्नका लागि पैसा त छैन ।

त्यसका लागि मैले ठमेलमा रहेको निश्चल चलचित्र मन्दिरमा रहेको १ रोपनी ३ आना जग्गालाई धितो राखेर बैंक अफ काठमाडौंबाट २५ लाख रुपैयाँ ऋण लिएँ र एभरेष्ट बैंकको सेयर खरिद गरेँ ।

त्यसबेलासम्म मैले बैंकबाट ऋण लिएको थिएन । बाउ बाजेले पनि ऋणलाई घिन भन्नु हुन्थ्यो । तर मलाई बैंकबाट ऋण लिनै पर्ने भयो । र बीओकेबाट जीवनमा पहिलो पटक ऋण लिएँ ।

एभरेष्ट बैंकको ३२५ रुपैयाँमा झरेको थियो । मैले त्यही समयमा २५ लाख रुपैयाँको सेयर खरिद गरेँ । ६ महिनामा सेयरको मूल्य ४०० पुग्यो । २५ लाख रुपैयाँको सेयरलाई धितोमा राखेर नेपाल फाइनान्सबाट ७० प्रतिशत ऋण २४ लाख रुपैयाँ लिएको ऋण फेरि एभरेष्ट बैंकको सेयरमा हाले । पछि ३५० रुपैयाँको सेयर ३६ सय रुपैयाँसम्म पुग्यो ।

यता जग्गाको भाउ पनि बढ्यो । जग्गालाई फेरि रि–भ्यालुएसन गरेर बीओकेमा २५ लाख रुपैयाँ थप ऋण लिएँ । त्यो पैसा पनि ७४ लाख रुपैयाँ एभरेष्टमा लगानी गरे । त्यो बेलामा केही हजार कित्ता सेयर नबिल बैंकको सेयर पनि खरिद गरेँ ।

यता जग्गाको भाउ फेरि बढ्यो । नबिल बैंकले २ करोड रुपैयाँ ऋण दिने भयो । जसबाट ५० लाख रुपैयाँ पहिलेको ऋण तिरे । र, बाँकी डेढ करोड रुपैयाँ पनि फेरि सेयरमै लगानी गरेँ ।

शुरुमा बीओकेको सेयरमा गुमाएको पैसा एभरेष्ट लगायतका बैंकको सेयरबाट फिर्ता लिएँ । कुनै समय मेरो पोर्टफोलियो ११ अर्ब रुपैयाँको थियो । त्यो बेलामा म सेयर बजारको खेलाडी थिएँ ।

हाम्रो पालामा आईपीओ हाल्दा मागे जति पाइन्थ्यो । जति बैंकका आईपीओ आएँ सबैमा सेयर हाल्दै गएँ । आईपीओमा लगानी गर्ने मान्छे नै हुन्नथे । अवस्था कस्तो थियो भने १० करोडको सेयर खरिद गर्न १ करोड रुपैयाँ हाले मात्रै पुग्थ्यो ९ करोड बैंक आफैले हालिदिन्थ्यो त्यसका लागि डेढ महिनाको ब्याज दिनु पथ्र्यो ।

मैले ६५÷६६ सालमा आएको सेयर बजारको बुललाई चिन्न सकिन । त्यो बेलामा बिक्री गर्नुपर्ने सेयर राख्दा मेरो पोर्टफोलियो नराम्रोसँग पछारियो ।

मैले बुटवल पावर कम्पनीको १ लाख कित्ता १३९ रुपैयाँमा किनेर १८००÷२ हजार रुपैयाँसम्ममा बिक्री पनि गरेँ । भने केही यस्ता कम्पनी छन् जसमा करोडौं रुपैयाँ समेत गुमाएको छु । नेशनल हाइड्रोको सेयरमा नराम्ररी डुबेको छु । त्यो बेलामा नेशनल हाइड्रोको साढे ३ लाख कित्ता सेयर खरिद गरेर ड्रयरमा राखेर अमेरिका गएँ । पहिलेको जस्तो अहिले मोबाइल थिएन ।

सन् २००७ मा अमेरिकामा छोराको दीक्षान्त कार्यक्रम थियो । त्यसैका लागि अमेरिका गएर ४ महिना बसे । त्यो बेलामा त्यो सेयर साढे ६ सय रुपैयाँ पुगेछ । सबैले १ हजार पुग्छ भनेछन् । म अमेरिकामा भएकाले बेच्न पाइन । म अमेरिकाबाट फर्केर आइपुग्दा ३ सयमा झरिसकेको छ । त्यो बेलामा किन घाटामा बेच्नु भनेर बेचिन अहिले त्यो सेयर ३८ रुपैयाँमा झरेको छ ।

पछि हकप्रद सेयर पनि भरे । र, २२ लाख कित्ता सेयर पुगेको थियो । त्यो सेयर कति १ सय रुपैयाँमा, कति २ सय रुपैयाँमा बिक्री गरेँ । अहिले पनि ५ लाख कित्ता सेयर छ । अलिकति भाउ बढेपछि त्यो पनि बिक्री गर्ने हो ।

त्यसैले अलिकति भाउ राम्रो आइसकेपछि बिक्री गरिहाल्नु पर्छ । यसले लगानीर्तालाई सुरक्षित बनाउँछ ।

प्रस्तुती : कमलकुमार बस्नेत

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स