अर्थमन्त्री खतिवडामा देखिएको १८० डिग्रीको यू-टर्न: पद जोगाउन कि सुधार गर्न ?



काठमाडौं । अर्थशास्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएको २३ महिना पुगेको छ । पार्टीका धेरै बरिष्ठहरुलाई पछि पार्दै प्रधानमन्त्री केपी ओलीको मन जितेर ‘टेक्नोक्र्याट’ खतिवडा अर्थमन्त्री बन्न सफल भएका थिए ।

डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्ति गरेको भन्दै अधिकांश नेपालीहरुले प्रधानमन्त्री ओलीको प्रसंसा गरे ।

‘प्रधानमन्त्री ओली अब साच्चिकै देश बनाउन चाहन्छन्, राजनीति गर्नेलाई पाखा लगाउँददै युवराज खतिवडा जस्तो अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाएर देशको ढुकुटीको चाबी जिम्मा लगाएर प्रधानमन्त्रीले देश विकास गर्ने प्रष्ट सन्देश दिए,’ २३ महिना अघि अधिकांश नेपालीले यस्तो प्रतिक्रिया दिएका थिए ।

ओलीले ठूला नेता पाखा लगाउँदा देशले पायो साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री

उद्योगी, ब्यापारी, युवा, विद्यार्थी, मजदुर त के विपक्षी पार्टीका नेता कार्यकर्ताहरुले पनि खतिवडालाई अर्थमन्त्री बनाएकोमा खुसीले गदगद थिए ।

आमसञ्चार माध्यमहरुमा पनि अर्थमन्त्री खतिवडा बारे सकरात्मक मात्रै समाचार आउँथे । यदि कसैले खतिवडाको नकारात्मक टिप्पणी गरेर समाचार लेख्यो भने त्यो समाचार लख्ने पत्रकार र मिडिया हाउसका विरुद्धमा स्वतस्फूर्तरुपमा आम मानिसले आलोचना गर्थे ।

अर्थमन्त्रीका रुपमा जब खतिवडाले आफ्नो सक्रियता बढाउँदै लगे । तब उनीप्रतिका गुनासाहरु बढ्दै गए । उनीप्रति नकारात्मक धारणाहरु बन्दै गए ।

खतिवडाको अधोगति उनको नेगेटेभि एटिच्यूडको घोषणापत्र अर्थात् सरकारले जारी गरेको श्वेतपत्रबाट शुरु भएको हो । अर्थमन्त्री खतिवडाले जारी गरेको श्वेतपत्रले अर्थतन्त्रको अवस्था शून्य जस्तै भएको देखायो । त्यसको एउटा मक्सद थियो कि– आगामी वर्षहरुमा हामीले यो गर्यौं, त्यो गर्यौं शून्यमा भएको अर्थतन्त्रलाई यहाँसम्म ल्यायौं भनेर देखाउने अनि जनताको नजरमा आफूले सुधार गरेको कहलिने ।

तर, बिडम्बना राज्यले नै अर्थतन्त्रको अवस्था अति नै कमजोर रहेको श्वेतपत्र जारी गरेपछि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आत्मबल कमजोर भयो । उनीहरु लगानी गर्न तयार भएनन् । लगानीकर्ता लगानी गर्न डराउँदा त्यसको प्रत्यक्ष असर परिरहेको छ । सरकारले तामझामका साथ लगानी सम्मेलन गर्दा पनि लगानीकर्ताले पत्याएनन् ।

अर्थमन्त्रीले भने-अब घरको कम्पाउण्डमा पनि कर लगाउँछौं, गाईबस्तुमा कर लगायो भन्न पाइन्न (अडियोसहित)

नेगेटिभिटीले भरिएको श्वेतपत्र अर्थमन्त्री खतिवडाका लागि मात्रै नभई सरकार र देशकै लागि आत्मघाती कदम सावित हुँदै गइरहेको छ ।

अर्थमन्त्री कर उठाउन र खर्च गर्न कडा हुनुपर्छ भने लगानीकर्तासँग नरम हुनुपर्छ । त्यो पनि बोलेर होइन, काम गरेर ।

नेपालीमा एउटा चर्चित उखान नै छ– ‘तित्राको मुखै बैरी’ ।

त्यस्तै भयो अर्थमन्त्री खतिवडालाई पनि । अर्थमन्त्रीका रुपमा उनीसँग गुनासो गर्न, आफ्ना कुरा राख्न पुगेका उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता वा अन्य कोहीका गुनासा सुनेर सक्ने हदसम्म माग पूरा गर्दिन्छु भनेर आश्वासन दिनतर्फ कहिल्यै लागेनन् खतिवडा । यसरी डेलिगेशन गएका टोलीलाई थर्काउँदै पठाउँदै गरे ।

विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

अर्थमन्त्री भनेको आर्थिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको अभिभावक पनि हो । अभिभावक सम्झेर माग राख्न जानेहरु उल्टै हप्काइदप्काइ खाएर फर्किनुपर्ने अवस्था आयो ।

खतिवडाको यो चरित्रले उद्योगी/व्यवसायी लगायतसँगको छलफल र अन्तक्रिया हुनै छाड्यो । दर्जनौं गुनासा र मागका पोका हुँदा हुँदै पनि अर्थमन्त्रीको अघि परेर सकेसम्म नभन्न पाए हुन्थ्यो भन्ने आम सोचको विकास भयो ।

अर्थमन्त्री हुनेवित्तिकै खतिवडाले सेयर बजार बारे गरेको टिप्पणीले सेयर बजारका लगानीकर्ताहरुको मनोवल गिर्यो । लगानीकर्ताहरुले धेरैपटक लगानीकर्तासँग भेट्ने प्रयास गरे । तर, स्वकिय सचिवालयमा कार्यरत खतिवडाका छोरीज्वाईं डा. रामशरण खरेलले अर्थमन्त्रीसँग भेटघाट हुन नदिन ठूलो भूमिका खेले ।

खरेलले केही समस्या भए आफूलाई भन्नू भन्थे । र, धेरै पटक लगानीकर्ताको डेलिगेशन गएको टोली आफ्नी आमा भेट्न नपाएको बालक जस्तै गरी फर्किन्थे ।

सेयर बजार लगातार घटिरह्यो । लगानीकर्ताहरु आक्रोशित हुँदै गए । यतिसम्म कि अर्थमन्त्रीको राजिनामा माग्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जअघि अनसन समेत बसे ।

लगानीकर्ता अनसन बसेको दृश्य बालुवाटारको ठूलो पर्खालभित्र बसेका प्रधानमन्त्रीको आँखामा पर्यो । प्रधानमन्त्रीले लगानीकर्ताहरुका माग के हुन् सम्बोधन गर्नू भनेर अर्थमन्त्रीलाई निर्देशन दिए । र, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पुँजी बजार सुधारका लागि सुझाब संकलन गरी प्रतिवेदन बुझाउन कमिटि गठन गरियो ।

अर्थमन्त्री खतिवडाको स्वेतपत्रमा अर्थशास्त्री विश्व पौडेलको टिप्पणी : शब्द शब्दमा खेलबाड

समितिले ५८ बुँदे सुझाब दियो । कतिपय सुझाबहरु तत्कालै कार्यान्वयन भए भने कतिपय अहिलेसम्म पनि भएका छैनन् । सरकारले कर्मकाण्डी काम गरेको भन्दै लगानीकर्ता निराश भए । जसको प्रत्यक्ष रिफ्ल्याक्सन नेप्से इन्डेक्समा देखियो ।

सरकार एकपछि अर्को गर्दै दुईतिहाइको दम्भ देखाउँदै गयो । हामीलाई जनताले म्यान्डेट दिएका छन्, हामीले जे भन्यो त्यही हुनुपर्छ भन्दै गयो । अरुका कुरा सुन्न छाड्यो । आफू भने एकतर्फी बोलेको बोलै गर्न थाल्यो । दुईतिहाइलाई निरिह बनेर टुलुहु-टुलुहु हेरेर बस्नुको विकल्प भएन ।

सरकारले खर्च गर्न नसक्दा र विदेशी लगानी तथा पुँजी नभित्रँदा बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) अभाव भैरह्यो । बैंकमा ऋण माग्न जाँदा पैसा नभएको भन्दै बैंकले ऋण दिन छाडे । ऋण पाइहाले पनि ब्याजदर महंगो भयो ।

विकास खर्च गर्न, बैंकिङ प्रणालीमा तरलता बढाउन र ब्याजदर घटाउन सरकार असफल भयो । फलस्वरुप व्यवसायीहरु चर्को ब्याजदरका विरुद्धमा सडकमा आन्दोलन गर्न जानुपर्ने अवस्था सिर्जना भयो ।

व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएपछि फेरि बालुवाटारबाट प्रधानमन्त्रीले देखे । अर्थमन्त्रीलाई व्यवसायीकै अघि ब्याजदरको विषयलाई सम्बोधन गर्न निर्देशन दिए ।

अर्थमन्त्री, व्यवसायी र बैंकरको त्रिपक्षीय बैठक बस्यो । राष्ट्र बैंकले स्प्रेडको गणनाविधिदेखि कतिपय ऋणमा ब्याजदर बढाउन नपाइने जस्ता निर्देशन दियो । यसको पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।
बैंकमाथि चौतर्फी आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरु संगठित भएर उक्त नीति कार्यान्वयन हुन नदिन लबिङ गरिरहेका छन् ।

ब्यापार घाटा लगातार बढिरह्यो । आयात र निर्यातबीचको असन्तुलन चुलिँदै गयो ।

यहाँ पनि अर्थमन्त्रीको आलोचना भयो । त्यसपछि अर्थमन्त्रीले धेरै वस्तुहरुको आयात रोक्नतिर लागे । आयात रोकेर ब्यापार घाटा सन्तुलन गर्ने नीतिले अर्थतन्त्र संकुचनतर्फ अघि बढ्यो । विस्तारै मुलुकमा आर्थिक क्रियाकलापहरु कम हुँदै गए । अझ भनौं इकोनोमी स्लो डाउन भयो ।

तर, अर्थमन्त्रीले कर भने बढाइरहे । करको दायरा बढाउने पर्याप्त ठाउँ हुँदाहुँदै अर्थमन्त्रीले त्यो झन्झट गरेनन् । दर बढाइदिए । करको दर बढ्दा खासगरी मध्यमवर्ग र जागिरे वर्गलाई ठूलो असर पर्यो । २/४ हजार बचत गर्दै घर र गाडीको किस्ता तिर्न लागेको पुस्ता पछि हट्नुपर्यो ।

कतिपयले त प्रधानमन्त्रीप्रति रोस प्रकट गर्दै ‘करप्रसाद ओली’ समेत भन्न भ्याए ।

प्यान, भ्याट र करका नीतिका बारेमा पनि एकैपटक धेरै नियम कानूनहरु आए । निजी क्षेत्रलाई त्यसले झन् टाढा बनाइदियो ।

कसैले सरकारको आलोचना गर्यो । सरकारलाई सुझाब दियो भने अर्कोपाटीको मान्छेको बिल्ला भइराइदिन बालुवाटारबाटै अरिंगालहरु परिचालित गरिए ।

सरकारले कयौं राम्रा काम गरेको तर मिडियाले विरोध मात्रै गरेको भनेर प्रधानमन्त्री नै पत्रकारहरु विरुद्ध खनिन थाले । अर्थमन्त्रीले पनि बारम्बार आफूले राम्रो काम गरेको तर पत्रकारहरुले म्यानुपुलेट गरेको दाबी गर्दै हिँडिरहे ।

सरकार गठन भएको २ वर्ष पुग्दासम्म अर्थतन्त्रमा कुनै पनि सुधारको संकेत देखिएन । महत्वाकांक्षी राजस्वको लक्ष्यमा सरकार फेल खाइरहेको छ । ६ महिनाको अवधिमा राजस्वको लक्ष्य र प्राप्तिबीचको ग्याप ८० अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ ।

रातारात चमत्कारै गरेर देखाउँछु जस्तै गर्ने र म नै अर्थतन्त्रको संस्था हुँ भन्ने अर्थमन्त्री पुस लागेपछि भने पहिलेका जस्ता छैनन् ।

सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)

प्रत्येक जस्तो कुरालाई नकरात्मक तरिकाबाट शुरु गर्ने र तिखो बाणले प्रहार गर्ने अर्थमन्त्री अचेल सकरात्मक कुरा पनि गर्न थालेका छन् । केही मधुर शब्दहरु पनि सुनिन थालेका छन् ।

अर्थमन्त्री खतिवडा एकाएक कसरी १८० डीग्रीमा यू-टर्न भए ? हामीले अर्थ मन्त्रालयकै केही अधिकारीहरुलाई सोधेका थियौं ।

‘शुरुमा आउँदा उहाँलाई म जत्तिको जान्ने कोही छैन, म धेरै काम गर्न सक्छु भन्ने लागेको थियो,’ अर्थका अधिकारीहरु भन्छन्, ‘व्यवस्थित गर्ने नाममा हामी पनि उहाँसँग भयवित भयौं । उहाँको स्वभावका कारण खुलेर सहयोग गर्नेहरु दिनानूदिन कम हुँदै गए । डरले मात्रै सहयोग गर्न बाध्य भए । त्यसको प्रभाव देखिन थालेपछि बालुवाटारबाट उहाँको प्रफर्मेन्समाथि प्रश्न उठ्न थाल्यो । र, अचेल उहाँ आफूलाई केही सुध्रिएको र उदार देखाउन लागि पर्नुभएको छ ।’

त्यो भन्दा महत्वपूर्ण कुरा भनेको आगामी फागूनमा खतिवडाको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदैछ । बजारबाट पार्टी र प्रधानमन्त्रीकहाँ आफ्ना बारेमा धेरै गुनासाहरु पुगेको थाहा पाएपछि रातारात खतिवडाले आफ्नो स्वभावमा जबर्जस्ती केही सुधार ल्याएको हुनसक्ने ती अधिकारीहरुको अनुमान छ ।

‘नविकरण नहुने डरले केही करेक्सन देखिएको छ,’ एक मन्त्रीले भने, ‘कसैले पनि आफ्नो बारे प्रधानमन्त्रीकहाँ गुनासो लिएर नपुगोस् र प्रधानमन्त्रीलाई खुसी पारेर अर्थमन्त्रीमा निरन्तरता पाइयोस् भन्ने मूख्य ध्येय देखिन्छ ।’

पछिल्ला केही उदाहारण हेरौं ।

एक महिनाको अवधिमा अर्थमन्त्री खतिवडा झापादेखि धनगढीसम्म पुगे । दर्जनबढी कार्यक्रममा भाग लिए । उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल गरे । उनीहरुका कुरा सुने । र, म गंभीर छु तपाईंहरुका समस्या समाधान गर्न लाग्छु भन्ने प्रतिवद्धता व्यक्त गर्दै फर्किए ।

काठमाडौंमा पनि यसबीचमा दर्जनौं कार्यक्रममा खतिवडा उपस्थित भए । पटक पटक अब कर बढाउँदिन भने । उद्योगी, बैंकर र सेयर लगानीकर्ताका मागको सम्बोधन गर्ने आश्वासन दिए । उद्योगीलाई बैंकको ब्याज बढी भएको घटाउन पहल गर्छु भनेर आश्वासन दिए भने बैंकहरुलाई पनि ठूलो पुँजी परिचालन गर्दा पनि नाफा कम भएको भन्न भ्याए । पुँजीगत लाभकर घटाउने आश्वासन दिएर सेयर लगानीकर्ताको मन जित्ने प्रयास गरे ।

‘अर्थमन्त्री खतिवडा अहिले दीर्घकालीन कामको कुरा गर्नुहुन्छ, फागुनमै जाने भए त त्यस्तो नगर्नुपर्ने,’ एक व्यवसायीले भने, ‘उहाँको बडि ल्याङ्ग्वेज हेर्दा आगामी कार्यकाल दोहोरिने संभावना देखिन्छ । बजारको सेन्टिमेन्ट लिन र प्रधानमन्त्रीलाई विश्वासमा लिइरहनका लागि उनले धाँजा फाटेको सम्बन्ध सिलाउन लागि परेका हुनसक्छन् ।’


क्लिकमान्डु