देउवाले गरेको सम्झौता ओलीले गरे कार्यान्वयन, दुबै देशका प्रधानमन्त्रीले गरे उद्घाटन



काठमाडौं । करिब २ अर्ब रुपैयाँ भारतीय सहयोगमा निर्माण भएको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)को मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

दुबै देशका प्रधानमन्त्रीले भिडियो लिंकमार्फत उद्घाटन गरेसँगै ट्रक आवातजावत शुरु भएको छ ।

उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भिडियो लिंकमार्फत् भारत सरकारले भूकम्पका समयमा गरेको सहयोगको समेत प्रशंसा समेत गरे । साथै नेपाल भारतबीचको व्यापारमा अझ सहज हुने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारतबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै यस आईसीपीले व्यापारिक सम्बन्धलाई अझ बलियो बनाएको बताए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीचको व्यापार सहजीकरणका लागि प्रमुख भन्सार नाकामा एकीकृत जाँच चौकी निर्माण गर्ने समझदारी भएको थियो ।

लामो समयसम्म उक्त समझदारी कार्यान्वयनमा आउन नसकेपछि सन् २०१० मा दुबै देशका उच्च अधिकारीहरुले उक्त सम्झौतालाई कार्यान्वयन गर्न पहिलो चरणमा विभिन्न ४ प्रमुख नाकामा एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता गरेका थिए ।

सोही सम्झौता अनुसार वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा त्यस्तो जाँच चौकी निर्माण अघि बढाइएको थियो । जसमध्ये वीरगञ्जमा यसअघि नै उद्घाटन भइ सञ्चालनमा आइसकेको छ । भने विराटनगरमा मंगलबारदेखि सञ्चालनमा आएको हो ।

निकट भविष्यमै नेपालगञ्ज निर्माण भइरहेको आईसीपी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आईसीपीमा भन्सार अध्यागमन, भण्डारन, पार्किङ सुविधा तथा बैंक र वित्तीय संस्थाका शाखा समेत रहने भएकाले व्यवसायीलाई सहज रुपमा आयात निर्यात गर्न मद्दत पुग्नेछ ।

गत असोजमा निर्माण सम्पन्न भएको उक्त जाँच चौकी मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । चौकी निर्माणका लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन्ट प्रालि, अहमदाबादले सन् २०१६ को डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

यसअघि गत असोजमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन पनि दुबै देशका प्रधानमन्त्रीले भिडियो लिंकमार्फत् गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारत सरकारको सहयोगमा गोरखामा भूकम्पपछि ५० हजार घर निर्माण गरेकोमा धन्यवाद दिए । साथै मोदीले भारत सरकारको सहयोगमा ५० हजार घरमध्ये ४५ हजार घर निर्माण भइ हस्तान्तरण भइसकेको र बाँकी ५ हजार घर पनि छिट्टै निर्माण भइ हस्तान्तरण गरिने प्रतिवद्धता जनाए ।


क्लिकमान्डु