लगानीकर्तालाई धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको टिप्सः यो लगानी गर्ने समय हो (भिडियाेसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले सेयर लगानीकर्ताहरुलाई केही टिप्स दिएका छन् ।
उनले क्लिकमाण्डूसँगको कुराकानीमा लगानीकर्तालाई टिप्स दिएका छन् ।

बोर्डले अध्यक्ष पाएसँगै लगानीकर्ताले धेरै नै अपेक्षा गरेका छन् । उनीहरुको लागि यो टिप्स तथा सुझाव निकै फलदायी हुने अध्यक्ष ढुंगानाको अपेक्षा रहेको छ । टिप्स तथा सुझावले बजारमा भएको पुराना तथा नयाँ लगानीकर्ताको हितमा हुने उनको बुझाइ छ ।

‘सेयर बजार भनेको प्राविधिक विषय भएकोले जसरी लगानी गरेपनि लगानी गर्ने संस्थाको नेटवर्थ कति छ, संस्था कसरी सञ्चालन भइरहेको छ, अण्डर भ्यालुएड सेयर हो कि ओभर भ्यालुएड सेयर हो त्यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।

आफुले लगानी गर्ने संस्थाको टेक्निकल र फण्डामेन्टल एनलाइसिस गर्ने र त्यसको मूल्य कति तिर्दा ठिक हुन्छ, र कति तिर्दा मलाई फाइदा हुन्छ भन्ने कुरामा ध्यान दिन सुझाव दिए ।

यसको लागि बोर्डले ठाँउ ठाँउमा वित्तीय साक्षरताका कार्यक्रम गर्ने पनि जानकारी गराए । कुनै लगानीकर्ताले आफूलाई यस्तो खालको ज्ञान चाहियो भनेर आएको खण्डमा बोर्डले ३० जनाको कक्षा नै चलाउने बताए ।

अध्यक्ष ढुंगानाले अहिलेको समय लगानीकर्ताले लगानी गर्ने बताए । ढुंगानाले नेप्से परिसूचक १८ सयबाट अहिले साढे १२ सय बिन्दुमा आएको भन्दै १८ सय बिन्दुको तुलनामा अहिले लगानी गरेर बढी फाइदा हुने बताए । बजारमा उतारचढाव हुनु स्वभाविक भएको भन्दै उनले लगानीकर्तालाई संयमित भएर लगानी गर्न सुझाए ।

बोर्ड आफुले बजार बढाउने र घटाउने काम नगर्ने भन्दै लगानीकर्ताको लागि चाहिने पूर्वाधार तयार पार्ने बताए । धितोपत्र बोर्डले आफ्नो जिम्मेवारी पुरा गरेर अगाडि बढ्ने भन्दै नियमनकारी निकाय बजारमा अनुशासन ल्याउन कडारुपमा प्रस्तुत हुने बताए ।

‘हामीले व्यवहारिक रुपमा अगाडि बढेर बजारको विकासमा जोड दिने छौ’, उनले भने ।

विस्तृत टिप्सका लागि भिडियाे हेर्नुहाेस्


क्लिकमान्डु