सुमार्गीको हेलो नेपालसहित ३ कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदले बदर गर्यो



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमै शुल्क नबुझाएको भन्दै गरेको तीन वटा कम्पनीको लाइसेन्स खारेजको निर्णय मन्त्रिपरिषद्ले बदर गरेको छ ।

मन्त्रिपरिषद्ले अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपाल, स्मार्ट टेलिकम र वेव सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय खारेज गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले तीन वटै कम्पनीलाई उक्त शुल्क पाँच किस्तामा बुझाउने गरी सुविधा दिने निर्णय भएको जानकारी दिए ।

उनले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ५ बमोजिम उक्त निर्णय भएको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरण २०७६ साउन १३ गते निर्णय नम्बर ४१६२ बाट तीन वटा कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरिएको थियो ।

बास्कोटाका अनुसार तीन वटै कम्पनीले पाँच वटा किस्तामा उक्त शुल्क बुझाउन निर्देशन दिइएको छ । जस अनुसार पहिलो किस्ता चालु आर्थिक वर्षको असार मसान्तसम्म र बाँकी चार किस्ता प्रत्येक वर्षको असार मसान्तभित्र साँवा, ब्याजसहित बुझाउनु पर्नेछ ।

यदी सो रकम समयसीमाभित्र नबुझाए लाइसेन्स खारेज गर्ने निर्णय भएको समेत बास्कोटाले बताए ।

सुमार्गी स्वामित्वको हेलो नेपालले रोयल्टी र नवीकरण शुल्कवापत ८० करोड रुपैयाँ तोकिएको समयमा नबुझाएका कारण लाइसेन्स खारेज गरिएको थियो ।


क्लिकमान्डु