अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाले साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा हाल्यो



काठमाडौं । अर्थ मन्त्रालयका उप-सचिव राजेन्द्र ढुङ्गानाले सार्वजनिक पदमा रहँदा ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा रुपैयाँ अवैधानीक रुपमा आर्जन गरेको आरोपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनी बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरेको जनाएको छ ।

आयोगका अनुसार ढुङ्गाना २०४९ साउन १९ देखि २०७५ असार ३२ गतेसम्म वैध रुपमा ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसा आर्जन गरेको जनाएको छ ।

तर सोही अवधिमा उनले ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाई छ । उनले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा खर्च तथा लगानी अस्वाभाविक देखिएको र त्यसको स्रोत नखुलेको आयोगको भनाई छ ।

ढुङ्गानाले सार्वजनिक पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक रुपमा उच्च जीवनयापन गरेको पुष्टि हुन आएको आयोगको ठहर छ ।

ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको जनाएको छ । जसले गर्दा उनलाई ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगोदाबी गरी आरोप दायर गरेको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुने छ ।

साथै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा जफत गरी पाउ भन्दै मागदाबी लिइएको आयोगले जनाएको छ ।

साथै, निज ढुङ्गानाले स्रोत नखुल्ने सम्पत्ति आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममा खरिद गरेकोले मधुको नाममा रहेको सम्पत्ति जफत गर्ने जनाएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम मधुलाई प्रतिवादी बनाई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।


पुष्प दुलाल