विद्युतीय भुक्तानीमा छलाङः राष्ट्र बैंकले वालेट भुक्तानीको सीमा १० गुणाले बढायो



काठमाडौं । विद्युतीय भुक्तानीलाई बढाउन राष्ट्र बैंकले मोवाइल वालेटमार्फत् भुक्तानी गर्न अपाउने सीमा १० गुणाले बढाएको छ ।

यसअघि वालेटमार्फत मासिक ५० हजारसम्म भुक्तानी गर्न अपाउने सीमालाई बढाएर राष्ट्र बैंकले ५ लाख रुपैयाँ पुर्याएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै वालेटबाट हुने भुक्तानीलाई गुणात्मक रुपमा बढाएको हो ।

‘हामीले विद्युतीय भुक्तानीमा नयाँ फड्को मारेका छौं,’ भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने ‘हामी डिजिटल पेमेन्टको महाअभियानमा छौं ।

वालेटमार्फत दैनिक २५ हजार रुपैयाँ भुक्तानी गर्न पाइनेछ ।

वालेटबाट मासिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने ग्राहकको पहिचान गर्न अनिवार्यरुपमा तोकिएको अनलाइन फारम भराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

वालेटबाट मासिक ५ हजार रुपैयाँभन्दा बढी कारोबार गर्ने ग्राहकलाई भने अनिवार्यरुपमा नो योर कस्टुमर (केवाइसी) फारम भराउनु पर्नेछ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट प्वाइन्ट अफ सेल (पीएसओ) मेसिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने निर्देशिकामा उल्लेख छ ।

विद्युतीय माध्यमबाट कारोवार गर्न अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थालेकारोवारको अभिलेख कारोवार सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

‘प्रत्येक कारोवार आवश्यक परेको अवस्थामा प्रमाणको रुपमा प्रयोग गर्न सकिने गरी ग्राहकको नाम, थर, ठेगाना, कारोवारको सीमा, मिति, प्रयोग भएको खाता नम्बर वा प्राप्त गर्ने व्यक्ति फर्म÷संस्थाको विवरण सहित उल्लेख गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।


पुष्प दुलाल