मेयर विद्यासुन्दर शाक्यको निर्देशन- होर्डिङ बोर्ड तुरुन्तै हटाउनुहोस्, पैसा लिएको भए फिर्ता गर्नुहोस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरु बढी सक्रिय र उत्तरदायी बन्नुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

सहरी सेवा, सहरी पूर्वाधार तथा सहरी सुविधा वितरणमा सबैको पहुँच पुर्याउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कामको बाँडफाँडसहितको विवरण प्रस्तुत गर्दै मेयर शाक्यले महानगरको नेतृत्वमा हुने काम र त्यसको कार्यान्वयनमा सक्रिय ढंगले लाग्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री ंतथा मन्त्रिपरिषदको कार्यालयबाट गरिएका कामको बाँडफाँडमा धेरै काम महानगर एक्लैले गर्नुपर्ने छ । यद्यपि केही काम भने विभिन्न मन्त्रालय, सडक विभाग, मेलम्ची खानेपानी आयोजना, नेपाल आयल निगमलगायतसँगको समन्वयमा सम्पादन गर्नुपर्ने रहेका छन् ।

विभागीय प्रमुखहरुसँगको छलफलमा मेयर शाक्यले कतिपय सन्दर्भमा नगरसभाबाट स्वीकृत गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन भएको ढिला–सुस्तीले केही समस्या भएको बताए ।

उनले विभागीय प्रमुखलाई स्वीकृत नीति तथा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न निर्देशन समेत दिए । ‘नीति र कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आउने हो भने महानगरसँग जनताका गुनासा पनि स्वतः कम भएर जाने थिए,’ उनले भन्नुभयो, ‘माथिल्ला निकायको अपेक्षा पनि हुने थिएन ।

महानगरसँग बजेट छ, नीति–कार्यक्रम छ । सबै भएर पनि किन काम भएन ? अब तपाईहरुले (बिभागीय प्रमुखहरु) जिम्मेवारी लिनोस् । अब प्रधानमन्त्रीकोमा जाँदा प्रगति प्रतिवेदन लिएर जाने वातावरण निर्माण होस ।’

उनले जनप्रतिनिधिले योजना बनाउने र ती योजनालाई कार्यान्वय तहसम्म लैजाने जिम्मेवारी कर्मचारीको भएको भन्दै कर्मचारी नै बढी जिम्मेवारी हुने भएकाले बढी जिम्मेवार भएर काम गर्न आग्रह समेत गरे ।

‘फाइल अल्झाउने, दिएका जिम्मेवारी पूरा नगर्ने, जनताप्रति उत्तरदायी नहुने, जनप्रतिनिधिले भनेको कुरा नटेर्ने हो भने हामीले जनअपेक्षा अनुसार काम गर्न सक्दैनौँ,’ उनले भने, ‘‘बजेटको अभाव छैन, त्यसैले काम गर्ने सिलसिलामा के समस्या भयो मलाई भन्नुहोला तर, तपाईहरु अलिक बढी जिम्मेवार र उत्तरदायी भएर काममा लाग्नुहोस् ।’

होर्डिङबोर्ड हटाउने काममा ढिला-सुस्ती नहोस्
मेयर शाक्यले सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिला–सुस्ती नगर्न पनि निर्देशन दिए । ‘सहरलाई नै कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्डका कारण हामीले पनि धेरै गुनासो सुन्नु परेको छ,’ उनले भने, ‘तपाईले होर्डिङबोर्ड राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस् । होइन भने सबै हटाउनोस् । शुल्क लिएर राख्न दिएको भए, पैसा फिर्ता गर्नुहोस् र बोर्ड हटाउनोस् । तर, हटाउने काममा ढला–सुस्ती हुनुभएन ।’


क्लिकमान्डु