एनसेलले बुझायो साढे ४ अर्ब रुपैयाँ



काठमाडौं । एनसेलले पुँजीगत लाभकरमध्ये साढे ४ अर्ब रुपैयाँ तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले मंगलबार दिउँसो ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

सर्वोच्च अदालतले जरिवानामा छुट दिएर फैसाला गरेपछि एनसेल कर बुझाउन गएको थियो । जसमध्ये फैसला भएदेखि आजसम्मको ब्याज समेत जोडेर एनसेलले २२ अर्ब ६४ करोड रुपैयाँ बुझाउनु पर्ने थियो । जसमध्येको ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

बाँकी १८ करोडभन्दा बढी रुपैयाँ ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न पाउनुपर्ने भन्दै एनसेलले ठूला करदाता कार्यालयमा निवदेन दिएको छ । आयकरमा करदाताले किस्ताबन्दीमा तिर्न सक्ने सुविधा दिएको छ ।

उक्त सुविधा एनसेलले २०७७ साल असारसम्म मात्रै पाउनेछ ।

गत बैशाखमा ठूला करदाता कार्यालयले एनसेललाई ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण गरेको थियो । जसमध्ये एनसेलले केही रकम पहिले नै तिरेको थियो ।

पहिले तिरेको रकमबाट घटाएर एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनु पर्ने ठहर गरेको थियो । जसको विरुद्धमा एनसेल फेरि सर्वोच्च अदालतमा पुगेको छ ।


क्लिकमान्डु