जहाँ क्रिटिकल त्यहाँ अर्घाखाँची सिमेन्ट, यस्तो छ नालीबेली



भैरहवा । ७ वर्ष अघिसम्म कपिलवस्तुमा शतप्रतिशत भारतीय लगानीमा डाइनेस्टी सिमेन्ट सञ्चालनमा थियो । तत्कालिन समयमा उक्त कम्पनीको सिमेन्ट उत्पादन क्षमता २०० टनको थियो । त्यसको खानी अर्घाखाँचीको नरपानीमा थियो ।

यता भैरहवामा १५ वर्ष अघिदेखि नै उद्योगीहरु पशुपति मुरारका, राजेश अग्रवाल मनोज केडियाले छुट्टाछुट्टै लगानीमा क्रमशः सुप्रिम, सिद्धार्थ र बृज ब्राण्डका सिमेन्ट उत्पादन गरिरहेका थिए । यी उद्योगहरु छेउछाउ थिए ।

सबैका ब्राण्ड स्थापित हुँदै थिए । दैनिकजसो सिमेन्टको माग पनि बढिरहेकै थियो । तर, बिडम्बना सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने क्लिंकर भने भारतबाट ल्याउनु परेको थियो ।

सिमेन्टको माग बढ्न थालेपछि उनीहरुका मनमा स्वदेशमै क्लिंकर उत्पादन गर्न पाए हुन्थ्यो भन्ने सोच पलाइसकेको थियो । तर त्यसका लागि करोडले पुग्दैनथ्यो । अर्ब लगानी गर्नुपर्थयो ।

एक्लैले अर्ब लगानी गर्न नसक्ने उद्यगी पनि थिएनन् उनीहरु । तर एउटै क्षेत्रमा अत्यधिक लगानी गर्नु लगानीको सिद्दान्त अनुसार ठीक होइन । लगानीको विविधिकरण गरे जोखिमको पनि बाँडिन्छ । र, कुनै एक क्षेत्रमा गरेको लगानी डुब्यो भने पनि अर्को क्षेत्रले भरथेग गर्छ ।

त्यसैले पैसा हुँदाहुँदै पनि उद्योगी/व्यवसायीहरुले एकै क्षेत्रमा आफ्नो भएभरको पुँजी खन्याउँदैनन् । त्यसै गरे उनीहरुले पनि । मुरारका, अग्रवाल र केडिया तीनैजना माडवारी समूदायका । उनीहरुबीच पारिवारिक सम्बन्ध पनि थियो । सबैले मिलेर क्लिंकरसहतिको सिमेन्ट उद्योग खोल्ने बिचार गरे ।

भारतमा सिमेन्ट उद्योग चलाइरहेको समूह उमा सिमेन्ट इन्टरनेशनल पनि उनीहरूसँग साझेदारी गर्न आइपुग्यो । र, ४ जना उद्योगीहरु मिलेर ७ वर्षअघि कपिलवस्तुमा रहेको डाइनेस्टी सिमेन्ट किने । उद्योगको विस्तारका लागि उनीहरुले  भैरहवामा २५ रोपनी जग्गा किने । र, ५ वर्षदेखि अर्घाखाँची ब्राण्डको सिमेन्ट उत्पादन गरिरहेका छन् । आफ्नो ब्राण्डलाई पुग्नेगरी मात्रै होइन अन्य ब्राण्डका सिमेन्टलाई क्लिंकर उत्पादन गरेर बिक्री वितरण गरिरहेका छन् ।

७ अर्ब लगानी

‘अहिलेसम्म अर्घाखाँची सिमेन्ट उद्योगका लागि ७ अर्ब रुपैयाँभन्दा बढी नै लगानी गरिसकेका छौं,’ उद्योगका सञ्चालक पशुपति मुरारकाले भने ।

हाल उद्योगले अर्घाखाँची ब्राण्डमा ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन गरिरहेको छ । तर बजारमा सिमेन्टको माग घटेका कारण हाल उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलिरहेको छ ।

उत्पादन क्षमतासँगै अर्घाखाँची सिमेन्टले देशभर बजार विस्तार गरिसकेको छ भने गुणस्तरका कारणले माग पनि उत्तिकै बढिरहेको छ । छोटो समयमा अर्घाखाँचीले कमाएको लोकप्रियता साँच्चै लोभलाग्दो छ ।

‘हामीलाई कतिपय साथीहरुले भन्नुहुन्छ पाल्पामा खानी छ, नाम किन अर्घाखाँची राख्नुहुन्छ ?’ मुरारकाले  अर्घाखाँची नाम राख्नुको कारणा प्रष्ट्रयाउँदै भने, ‘पहिले हाम्रो खानी अर्घाखाँचीको नरपानीमा थियो । त्यहाँ समस्या आएपछि हामी पाल्पाको खानी प्रयोग गरेका हौं । शुरुमा अर्घाखाँचीमा खानी भएकाले नाम अर्घाखाँची राखिएको हो ।’

त्यो बेला उनीहरुसँग विदेशी वा अन्य कुनै ब्राण्डमा सिमेन्ट उत्पादन गर्ने अप्सन थियो । तर, स्वदेशी ब्राण्ड स्थापना गर्ने उनीहरुको सोच भएकाले अर्घाखाँची नाम राखिएको मुरारका बताउँछन् ।

‘अर्घाखाँचीको खानी प्रयोग गरिएकाले खानीसँग जोडेर ब्राण्डको नाम अर्घाखाँची सिमेन्ट राखेका हौं,’ उनले भने, ‘विदेशी नाम पनि राख्न सक्थ्यौं । तर, हामीलाई देशभित्रको स्थानीय नामलाई ब्राण्डका रुपमा देशविदेशमा परिचित गराउने सोच आयो ।’

हाइटेक र वातावरणमैत्री

उद्योगमा नयाँ प्रविधि जडान गरिएको छ । जसलाई भीआरएम (भर्टिकल रोलर मिल) भनिन्छ । डेनमार्कको एफएल स्मिथ कम्पनीको भीआरएम प्रविधि लगाइएको उद्योगको सम्पूर्ण युनिटको कन्ट्रोल एउटै कोठाबाट हुन्छ।

सिमेन्टका लागि चाहिने सबै रसायनिक मिश्रण सिस्टमले निर्धारण गर्छ। तोकिएअनुसार नहुने वित्तिकै सिस्टम अलर्ट हुन्छ। र, फिल्डमा खटिएका प्राविधिकहरुले तत्कालै एक्सन लिन्छन् ।

अहिले उद्योगले ओपीसीसँगै पीपीसी सिमेन्ट पनि उत्पादन गरिरहेको छ । मुरारका सिमेन्ट उद्योगलाई वातावरणमैत्री बनाउका लागि विभिन्न तरिका अपनाएको बताउँछन् ।

‘सिमेन्ट उद्योगहरु वातावरणमैत्री हुँदैनन्, तर पनि सकेसम्म वातावरणलाई कम हानी गरोस् भनेर विभिन्न उपाय अवलम्बन गरिहेका छौं’ उनले भने, ‘उद्योगबाट निस्कने साढे २ सय डिग्रीको तातो हावालाई कसरी कम गर्ने भन्नेमा काम गरिरहेका छौं ।’

उद्योगबाट उत्पादित तातो हावाबाट साढे २ मेगावाट विजुली पनि उत्पादन भइरहेको छ । जुन उद्योगमै उपयोग भइरहेको छ ।

उद्योग सञ्चालन गर्न २० मेगावाट विद्युत् आवश्यक पर्छ, जसमध्ये साढे २ मेगावाट विद्युत् उद्योगमै उत्पादन हुन्छ ।

अर्घाखाँची सिमेन्टले दक्षिण अफ्रिकाबाट कोइला ल्याइरहेको छ । जुन भारतको कलकत्ता हुँदै ल्याउनुपर्छ । तेस्रो मुलुकबाट सामान आयात गर्दा कार्गो खुला गरेको अवस्थामा एक टन क्लिंकर ३ सयदेखि ४ सय रुपैयाँ सस्तो पर्ने उनको भनाइ छ ।

गुणस्तरमा नम्बर वान

गुणस्तरका हिसाबले अर्घाखाँची सिमेन्ट ५३ ग्रेडभन्दा माथि भएको मुरारका बताउँछन् ।

सिमेन्टको गुणस्तरमा खासगरी २ वटा कुरा महत्वपूर्ण हुने उनको भनाइ छ । पहिलो चुनढुंगाको गुणस्तर र दोस्रो उत्पादन प्रक्रियादेखि प्याकेजिङसम्म ।

पहिलो, अर्घाखाँची सिमेन्टले प्रयोग गरेको चुनढुंगा निकै गुणस्तरीय भएको मुरारकाको दाबी छ । दोस्रो, उत्पादनको प्रक्रियादेखि प्याकेजिङसम्मको काम अत्याधुनिक प्रविधिबाट हुन्छ ।

‘गुणस्तरका हिसाबले अर्घाखाँची सिमेन्ट पहिलो नम्बरमा छ’ मुरारका भन्छन्, ‘गुणस्तरमा हामीले कुनै कम्प्रमाइज नगरेका कारण यो संभव भएको हो ।’

चुनढुंगामै हुने म्याग्नेसियाका कारण सिमेन्ट उत्पादन गर्दा गुणस्तर घटबढ हुनेगर्छ।

पछिल्लो समय हाइड्रोपावरदेखि ठूला उद्योगहरु बनाउँदा अर्घाखाँची सिमेन्ट प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

‘अचेल जहाँ क्रिटिकल त्यहाँ अर्घाखाँची सिमेन्ट प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ,’ मुरारकाले भने ‘जलविद्युत् आयोजना निर्माण गर्दा  कम्पनीका सञ्चालकहरूले क्रिटिकल ठाउँमा अर्घाखाँची सिमेन्ट नै प्रयोग गर्न सुझाव दिएछन्, यसले पनि अर्घाखाँची सिमेन्टको गुणस्तर कस्तो छ भनेर देखिन्छ ।’

निर्यातको तयारी

मुरारका सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेकाले अब भारतीय बजारलाई लक्षित गर्नुपर्ने बताउँछन् । त्यसका लागि सरकारले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

विशेषरी भारतको बिहार, उत्तर प्रदेश र वेष्ट बंगालमा आफ्नो सिमेन्टलाई निर्यात गरिने उनले जानकारी दिए । ‘ती स्थानमा क्लिङ्कर उत्पादन हुँदैन,’ उनले भने, ‘तसर्थ भारतका सो स्थानमा नेपाली सिमेन्ट निर्यातको उच्च सम्भावना छ, हामीले पनि सोही अनुरुप तयारी थालेका छौं ।’

निर्यातका लागि कानूनी अड्चन नेपालमा उत्पादन भएको सिमेन्ट भारतीय बजारमा निर्यातका लागि धेरै बाधाहरु रहेको उनले गुनासो गरे ।

सरकारले तोकेको सिमेन्टको एमजीओका कारणले गर्दा पनि नेपाली सिमेन्टलाई भारतीय बजारमा निर्यात गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए । साथै भारतले तोकेको गुणस्तर अनुसारको सिमेन्ट उत्पादन गर्न दिएर सोही अनुरुप निर्यातका लागि सहजिकरण गरिदिनुपर्ने मुरारकाको माग छ ।

‘भारत निर्यातका लागि हामीले सोही अनुसारको गुणस्तरीय सिमेन्ट उत्पादन गर्नुपर्छ, त्यसका लागि नेपालमा पनि सिमेन्टको बोरामै गुणस्तर उल्लेख पाए राम्रो हुने थियो’ उनले भने ।

पछिल्लो समय नेपालमा सिमेन्टको मूल्य घटेको छ। गएको एक वर्षमै सिमेन्टको उपभोक्ता मूल्य २५ प्रतिशतले घटेको छ । मागको तुलनामा उत्पादन धेरै भएकाले मूल्य घटेको हो ।

त्यसका साथै सिमेन्ट भारतमा निर्यातका लागि सरकारले विद्युतमा समेत सहुलियत दिनुपर्ने उनको सुझाव छ ।

‘उद्योगका लागि आवश्यक महत्वपूर्ण विद्युतनै हो, एक टन सिमेन्ट उत्पादन गर्न १०० युनिट विद्युत् खपत हुन्छ । त्यसैले हामीलाई सस्तो मूल्यमा विद्युत् उपलब्ध सरकारले गरायो भने हामीले उत्पादन बढाउन सक्छौं ।’

सरकारले माग अनुरुप विजुली नदिएकै कारण उद्योगले ५० करोडभन्दा बढीको लगानीमा थर्मल प्लान्ट र जेनेरेटर राख्नुपरेको उनको गुनासो छ ।

यसकारण आइपीओमा ढिलाइ

अर्घाखाँची सिमेन्टले केही वर्षदेखि सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्काशनको तयारी गरिरहेको मुरारकाले जानकारी दिए ।

उद्योगले आफ्नो उत्पादन क्षमता बढाएर नाफामा गएसँगै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी थालेको थियो । घट्दो सेयर बजार तथा उत्पादनमुलक कम्पनीमाथि लगानीकर्ताले हेर्ने दृष्टिकोण नराम्रो भएका कारण तत्कालका लागि प्रक्रिया नै रोक्नुपरेको उनले सुनाए ।

‘पहिला सेयर बजारको अवस्था राम्रो थियो भने कम्पनीको कमाइ पनि राम्रो थियो तर पछिल्लो समय बजार घट्नु साथै विभिन्न अबरोधका कारण कम्पनीको नाफामा पनि गिरावट आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सेयर जारी गर्दा सर्वसाधारण ठगिन सक्छन त्यसैले बुलिस ट्रेण्ड कुरेर बसेका छौं ।’

करको मार

अहिले सिमेन्ट उद्योगका खानीहरु केन्द्रीय सरकारको मातहतमा हुन्छ । उद्योगले तिरेको रोयल्टीको ५० प्रतिशत केन्द्रीय सरकारलाई जान्छ, २५ प्रतिशत प्रादेशिक सरकारमा र बाँकी २५ प्रतिशत स्थानीय सरकारमा जान्छ ।

‘त्यति हुँदाहुँदै पनि स्थानीय सरकारले विभिन्न माग तेर्साएका हुन्छन्, कतिपय गाउँपालिकाले लगाएका हुन्छन् र बारम्बार विभिन्न करका नाममा दुःख दिने काम भइरहेको छ, यसलाई पनि रोक्नुपर्छ,’ उनले भने ।

चीनमा धेरै उत्पादन

विश्वमा २२ सय मिलियन टन सिमेन्ट उत्पादन हुन्छ । जसमध्ये आधाभन्दा बढी १२ सय मिलियन टन सिमेन्ट चीनले उत्पादन गर्छ । ३ सय मिलियन टन सिमेन्ट भारतले उत्पादन गर्छ भने बाँकी अन्य विश्वले उत्पादन गर्ने हो । मुख्य देशहरु चीन, भारत, अमेरिका र यूरोपमा ६ प्रतिशत सिमेन्ट उत्पादन हुन्छ ।    


पुष्प दुलाल