घरजग्गामा बैंकहरुको ४ खर्ब लगानी, महिना दिनमै २ अर्बले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)



काठमाडौं । सरकारी कडाइका बाबजुत बैंकहरुले हाउजिङ तथा रियलस्टेटमा कर्जा बढाइरहेका छन् । कित्ताकाट रोकिएर जग्गाको किनबेच घटेका बेला पनि बैंकहरुको कर्जा भने बढेको हो । यद्यपि कर्जाको वृद्धिदर भने सामान्य नै छ ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय सस्थाले १ महिनामै १ अर्ब ९७ करोड २० लाख रुपैयाँभन्दा बढी रियल स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घरमा कर्जा दिएका छन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले ४ खर्ब ३ अर्ब ५४ करोड ५० लाख रुपैयाँ रियल स्टेट कर्जा लगानी गरेका थिए । तर कात्तिक महिनासम्म बढेर ४ खर्ब ५ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आवासीय प्रयोजनका लागि घर किन्न वा आवास निर्माणका लागि घडेरी (जग्गा) खरिदका लागि प्रवाह हुने १ करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियल स्टेटमा गणना गर्न नपर्ने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

यस आधारमा रियल स्टेट कर्जा अन्तर्गत १ करोड ५० लाख रुपैयाँसम्म व्यक्तिगत कर्जातर्फ कात्तिक मसान्तसम्म २ खर्ब ४८ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी बैंक तथा वित्त कम्पनीले गरेका छन् ।

सो कर्जा असोज मसान्तको तुलनामा १ अर्ब ७९ करोड १० लाख रुपैयाँ बढी हो । साथै, १ करोड ५० लाख रुपैयाँभन्दा माथि हाउजिङका लागि काक्तिक मसान्तसम्म १ खर्ब ५७ अर्ब १२ करोड १० लाख रुपैयाँ बैंक र वित्त कम्पनीले कर्जा लगानी गरेका छन् । सो कर्जा असोज मसान्तको तुलनामा १८ करोड १० लाख रुपैयाँ बढी हो ।

लगानीका अन्य उपयुक्त विकल्प नभएकाले प्रतिकूल अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् ।

चालु आवको कात्तिक मसान्तसम्म वाणिज्य बैकहरुले ३ खर्ब २७ अर्ब १८ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुले ६२ करोड ३४ करोड ९० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले १५ अर्ब ८९ करोड २० लाख रुपैयाँ रियल स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको कुल रियल स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जामा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकहरुको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३ वटा वाणिज्य बैंकले २० अर्ब भन्दामाथि स्टेट (हाउजिङ) कर्जा र व्यक्तिगत आवासीय घर कर्जा लगानी गरेका छन् ।


सामिक्षा अवधिमा रियल स्टेट (हाउजिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घरका क्षेत्रमा सबैभन्दा बढी एनआसी एसिया बैंकले कर्जा प्रवाह गरेको छ । बैंकले उक्त अवधिमा ३४ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको हो । जसमा हाउजिङ्ग तथा प्लटिङ्गमा १६ अर्ब ८१ करोड ६ लाख रुपैयाँ र व्यक्तिगत आवास निमार्ण तथा जग्गा खरिदमा १७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस्तै कात्तिक मसान्तसम्म स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा बढी लगानी गर्नेे बैंकको दोस्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । बैंकले हाउजिङ्ग तथा प्लटिङ्गमा ३ अर्ब ९९ करोड २० लाख रुपैयाँ र व्यक्तिगत आवस निमार्ण तथा घडेरी खरिदमा १९ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ गरि जम्मा २३ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सो अवधिमा २२ अर्ब रुपैयाँभन्दा बढी स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गरेको छ । बैंकले ८ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ प्लटिङ्ग तथा हाउजिङ्गमा र १३ अर्ब ६४ करोड १९ लाख रुपैयाँ गरि जम्मा २२ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्ममा १० अर्ब भन्दा बढी र २० अर्ब भन्दा कम रियल स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा लगानी गर्ने ११ वटा वाणिज्य बैंक छन् ।

जसमा एनएमबी बैंकले १६ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ,ग्लोबल आईएमई बैंकले ६ अर्ब ९१ करोड ९० लाख रुपैयाँ, नविल बैंकले १६ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ, प्रभु बैंकले १३ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ, सनराईज बैंकले १३ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ अर्ब ६ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, सिद्धार्थ बैंकले १२ अर्ब ६९ करोड १५ लाख ५१ रुपैयाँ, मेगा बैंकले १२ अर्ब ६३ करोड ९ लाख रुपैयाँ, सानिमा बैंकले ११ अर्ब ७० करोड ९६ लाख रुपैयाँ, सिटिजन्स बैंकले १० अर्ब ९१ करोड ७८ लाख रुपैयाँ र प्राइक बैंकले १० अर्ब ३४ करोड ५ लाख रुपैयाँ रियल स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

यसैगरि १० अर्ब रुपैयाँभन्दा कम रियल स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गर्ने १४ वटा वाणिज्य बैंकहरु छन् । जसमा माछापुच्छ्रे बैंकले ९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ, नेपाल बैंकले ९ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ, हिमालय बैंकले ७ अर्ब ९० करोड ३० लाख रुपैयाँ, लक्ष्मी बैंकले ७ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, सेन्चुरी बैंकले ७ अर्ब ३५ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तै, बैंक अफ काठमाण्डौंले ७ अर्ब २५ करोड २५ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले ७ अर्ब १८ करोड ६२ लाख रुपैयाँ, कुमारी बैंकले ६ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ९३ करोड ८ लाख रुपैयाँ लगानी थरेका छन् ।

त्यसैगरी, एनसीसी बैंकले ५ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, कृषि विकास बैंकले ५ अर्र्ब ४३ करोड ५० लाख रुपैयाँ, सिभिल बैंकले ५ अर्ब २८ करोड ८६ लाख र रुपैयाँ जनता बैंक नेपालले अर्ब ४ ७५ करोड ५७ लाख रुपैयाँ रियल स्टेट (हाउजिङ्ग तथा प्लटिङ्ग) कर्जा र व्यक्तिगत आवासीय घर निमार्ण तथा जग्गा खरिदका क्षेत्रमा कर्जा लगानी गरेका हुन् ।


पुष्प दुलाल