बैंकहरुलाई विभागिय रिपोर्टिङको झन्झट सकियो, लागू भयो एसआइएस प्रणाली
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको विभागिय रिपोर्टिङको झन्झट हट्ने भएको छ । राष्ट्र बैंकले सुपरभाइजरी इनफरमेसन सिस्टम (एसआइएस) प्रणाली लागू गर्दै सुचना प्रणालीमा एकरुपता ल्याएर केन्द्रिय बैंकका सबै विभागमा वित्तीय विवरण पठाउनु पर्ने झन्झटको अन्त्य गर्ने भएको हो ।
राष्ट्र बैंकले सो प्रणाली यही पुष २३ गतेबाट वाणिज्य बैंक र इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक मार्फत ‘पाइलट टेस्ट’ को रुपमा कार्यान्यवन गर्ने जनाएको छ । उक्त प्रणाली लागू भएपछि बैंक तथा वित्तीय क्षेत्रमा एकद्धार सुचना प्रणाली सुरु हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।
‘आजसम्म बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सम्पुर्ण विवरण राष्ट्र बैंकको सबै विभागमा अलग अलग फरम्याटमा अलग अलग पठाइरहेका छन्,’ ढकालले क्लिकमाण्डूसँग भने ‘अब भने उहाँहरुले आफ्ना सबै सुचना एसआएस सिस्टममा अपलोड मात्र गरिदिए पुग्छ ।’
राष्ट्र बैंकको सबै विभागले आवश्यकता अनुसार सिस्टममा अपलोड भएका सुचनाहरु आफंै लिने उनको भनाई छ ।
‘एसआइएस प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थालेएकद्धार प्रणालीबाट तथ्यांक र सुचनाहरु अपलोड गरेको रियल टाइममा नै राष्ट्र बैंकले सो सुचना संकलन गर्न सक्छन,’ उनले भने ‘यो प्रणालीले गर्दा सबैलाई सजिलो हुनुका साथै बैंक वित्तीय संस्थाको विभागै पिच्छे तथ्यांक सुचना पठाउनु पर्ने समयको बचत हुन्छ ।’
हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको सबै विभागमा आवश्यकता र विभागले माग गरे अनुसार छुट्टटाछुटै विवरण वा सुचना पेश गर्ने गरेका छ । राष्ट्र बैंकले ल्याएको एसआइएस सिस्टमको लिंकमा जुनसुकै विभागमा पठाउने पर्ने सुचना कोर बैंकिङ सिस्टमबाट वा अन्य पक्रियाबाट अपलोड गरेपछि आवश्यकता अनुसार विभागले उक्त सुचना संकलन गरी उपयोग गर्नेछन् ।
उक्त सिस्टम १ महिनासम्म वाणिज्य बैंक र इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकमा परिक्षण गर्ने र परिक्षण सम्पन्न भएपछि सबै बैंक तथा वित्तीय संस्थामा लागू गरिने कार्यकारी निर्देशक ढकालले बताए ।
‘केही समयसम्म तोकिएका बैंकले पुरानो र नयाँ दुबै प्रणालीमा सुचना राष्ट्र बैंकको विभिन्न विभागमा पठाउछन्,’ उनले भने ।
परिक्षण अवधि सकिएरपछि राष्ट्र बैंकको निर्देशनमा सबै बैंक तथा वित्तीय संस्थाले एसआइएसको सिस्टमबाट रिपोटिङ गर्नु पर्ने ढकालले बताए ।