आधा दर्जन बैंकले राष्ट्र बैंकलाई भने- मर्जरका लागि पार्टनर खोजिदिनु पर्यो



काठमाडौं । आधा दर्जन वाणिज्य बैंकले नियामक नेपाल राष्ट्र बैंकलाई मर्जरका लागि पार्टनर खोजिदिन आग्रह गरेका छन् । राष्ट्र बैंकले मर्जर जान दबाब बढाएपछि बैंकहरुले उपयुक्त संस्था खोज्ने जिम्मा राष्ट्र बैंकलाई नै लगाएका हुन् ।

‘मर्जरमा जान तयार छौं तर उपयुक्त संस्था भेटिएको छैन, राष्ट्र बैंकमा अरु संस्थाहरु पनि आइरहेका हुन्छन्, त्यस्ता संस्थाहरु आएको अवस्थामा सरहरुले हामीसँग सम्पर्क गराइदिनु,’ बैंकका सञ्चालक र सीइओहरुको भनाई उदृत गर्दै राष्ट्र बैंकका उच्च अधिकारीले क्लिकमाण्डूसँग भने ।

ती अधिकारीका अनुसार सिटिजन्स, सिभिल, सेञ्चुरी, कुमारी, एनसीसी लगायतका बैंकले मर्जरका लागि जोडी खोजिदिन आग्रह गरेका हुन् ।

बैंकहरुले नै पार्टनर खोजिदिन आग्रह गरेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरु जोडी खोजिदिने काममा सक्रिय हुन थालेका छन् । खासगरी केही विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक तथा सीइओहरुलाई राष्ट्र ती संस्थासँग मर्ज हुनका लागि सुझाव दिइरहेका छन् ।

पार्टनर खोजिदिन आग्रह गर्ने बैंकले आफ्नो नाम गुमाउन चाहेका छैनन् । उनीहरुले पनि राम्रा विकास बैंक र फाइनान्स कम्पनी पाए मर्ज गरेर आफ्नो अस्तित्व जोगाउने रणनीति बनाएका छन् ।

‘आगामी २ महिनाभित्र ३ देखि ४ वटा बैंकबीच मर्जर सम्बन्धी सम्झौता हुनेगरी हामीले काम गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘विकास बैंक र फाइनान्स कम्पनी गाभेर अघि बढ्न उहाँहरुको रणनीति त ठीकै हो । तर, उहाँहरु पनि रहनसक्ने अवस्था कम नै देखिन्छ ।’

ग्लोबल र जनता बैंक मर्ज भएर देशकै ठूलो बैंक बनेपछि अन्य संस्थाहरुलाई मर्जरमा जान थप दबाब परेको छ ।

‘ठूलो आकारका बैंकसँग सानो आकारका बैंकलाई प्रतिस्पर्धा गर्न निकै कठीन हुन्छ,’ स्रोतले भन्यो ‘त्यसैले बरु आपसमा मर्ज भएर ठूलो भएको खण्डमा भने राम्रो रिजल्ट आउन सक्छ ।’

तर, राष्ट्र बैंकका अधिकारीहरुले भने अलि कमजोर बैंकलाई बलिया बैंकले गाभिदिए हुन्थ्यो भन्ने सोचमा छन् ।

राष्ट्र बैंकले संख्या घटाउने उदेश्यले बैंकहरुलाई मर्जरमा जान नीतिगतरुपमा प्रोत्साहन र व्यवहारिकरुपमा दबाब दिइरहेको छ ।


पुष्प दुलाल